कांग्रेस संस्थापन लचिलो बन्दा पनि मानेन देउवा पक्ष
काठमाडौं : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा आफूहरू सहमत हुन नसक्ने जनाएको छ।
देउवा पक्षका शीर्ष नेताहरूको सोमबार बिहान भएको छलफल संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने निष्कर्षमा पुगेको नेता एनपी साउदले जानकारी दिए।
संस्थापन पक्षले आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो।
महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट संशोधन गर्न निरन्तर पहलकदमीका लागि सो निर्णय गरिएको थियो।
यसअघि पूर्व सभापति देउवा पक्षले गत साउन २९ गतेदेखि तीन दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सो सम्मेलनपछि संस्थापन इतर पक्षले कांग्रेसको छुट्टै १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो।
संस्थापन पक्षले यसअघि नै पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ सम्म काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ। यसरी दुवै पक्षले छुट्टाछुट्टै १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको भए पनि सहमति र एकताको प्रयास भने दुवै पक्षबाट कायमै राखेको देखिन्छ।
भदौ २९, २०८३ सोमबार १५:४१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।