त्रिशूली ‘थ्री’एबाट उद्धार गरिएका सञ्जय फर्किँदा गाउँमा केक काटियो, घरमा मिठाइ बाँडियो
सप्तरी : भोटेकोशी र त्रिशूली नदीको विनाशकारी बाढीपछि जलविद्युत आयोजनाको सुरुङभित्र १० दिनसम्म मृत्युसँग लडेर बाँच्न सफल प्राविधिक सञ्जय साह अन्ततः घर फर्किएका छन्।
त्रिशूली-३ ‘ए’ आयोजनाको सुरुङबाट चामत्कारिक रूपमा जीवितै उद्धार गरिएका ३० वर्षीय साह अस्पतालको उपचारपछि गाउँ आइपुग्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका शोक भुलेर उत्सवमय बनेको छ।
जसलाई परिवार र आफन्तले लगभग आश मारिसकेका थिए, उनै सञ्जय घरको आँगनमा सकुशल उभिएपछि गाउँलेको आँखाबाट खुसीको आँसु थामिएन। परिवार, छिमेकी र आफन्तले केक काटेर, अबिर दलेर र मिठाई बाँडेर खुसी मनाए।
सञ्जयका बुबा रामफल साहका लागि यो कुनै दैवी चमत्कारभन्दा कम छैन।
“दिन बित्दै जाँदा छोरा अब भेटिँदैन होला भनेर आश मरिसकेको थियो,” भावुक हुँदै उनले भने, “जब सामाजिक सञ्जालमा छोराको जीवितै उद्धार भएको खबर देखेँ, भगवान्ले मेरो छोरालाई दोस्रो जीवन दिएको महसुस भयो।”
सञ्जयकी पत्नी लक्ष्मी साहको आँसु अझै ओभानो भएको छैन, तर यसपटक आँसुमा पीडा होइन, अगाध खुसी छ।
“श्रीमान् फर्किनुहोला भन्ने आश टुटिसकेको थियो। तर, भगवान् र उद्धारमा खटिने सुरक्षाकर्मीहरूले मेरो सिन्दूर र मेरी अबोध छोरीको बुबालाई फर्काइदिनुभयो”, उनले भनिन्।
सुरुङभित्रको त्यो १० दिन
गत भदौ १० गते त्रिशूलीमा आएको भीषण बाढीको सम्झना गर्दा सञ्जय अहिले पनि सिहिरिन्छन्।
“बाढी आउँदैछ भन्ने खबर पाउनासाथ हामी सतर्क त भयौँ, तर भाग्ने समय नै पाइएन,” सञ्जय सम्झिन्छन्, “साथीहरूलाई निस्कन भन्दाभन्दै पानीको विशाल छालले छोपिहाल्यो। साथीहरू कता बगे, थाहै भएन।”
त्यसपछि सुरु भयो- बाँच्नका लागि एउटा असम्भव सङ्घर्ष। उनी आयोजनाको सुरुङभित्र थुनिए। चारैतिर कालो अँध्यारो, दिन र रातको कुनै पत्तो थिएन। बाढीको लेदोले सुरुङको भूगोल नै बदलिदिएको थियो।
उनी सुरुका दुई-तीन दिन सुरुङको भेन्टिलेसनमा झुण्डिएर ज्यान जोगाउन सफल भए। खानेकुराको नाममा केही पनि थिएन।
“घाँटी सुकेर काकाकुल हुन्थ्यो। भुइँमा हिलो र मेसिनको मोबिल मिसिएको फोहोर पानी जमेको थियो। बाँच्नकै लागि त्यही पानीलाई लगाएको कपडाले छानेर घाँटी रसाउन बाध्य भएँ”, उनले सुनाए।
अँध्यारो सुरुङभित्र उनले हिम्मत भने हारेनन्।
“मनभित्र डर पस्न नदिन महामन्त्र जपिरहेँ। त्यसले मलाई हिम्मत दियो”, उनले भने।
१०औं दिनमा जब बाहिर उद्धारमा खटिएका नेपाली सेना र उद्धारकर्मीको डोजर तथा मेसिनको गडगडाहट सुरुङभित्र सुनियो, सञ्जयको मनमा बाँच्ने आशा पलायो। अन्ततः सेनाले उनलाई सकुशल बाहिर निकाल्यो।
सैनिक अस्पताल छाउनीमा आठ दिनको उपचारपछि घर फर्किएका सञ्जय आफूले नयाँ जीवन पाएकामा खुसी छन्।
“म त बाँचेर फर्किएँ, तर मेरा साथीहरू अझै सम्पर्कमा छैनन् भन्दा छाती भक्कानिन्छ”, उनले भारी मनले भने।
भदौ २९, २०८३ सोमबार ११:२०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।