बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल, राहत र पुनर्निर्माण मुख्य एजेन्डा

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल, राहत र पुनर्निर्माण मुख्य एजेन्डा

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषित विभिन्न जिल्लाका जनप्रतिनिधिहरूसँग उच्चस्तरीय छलफल सुरू गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजेदेखि जारी बैठकमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका प्रमुख तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिसभा सदस्यहरूको सहभागिता रहेको छ।

बैठकमा बाढीपछिको वस्तुस्थिति समीक्षा, हाल भइरहेका उद्धार तथा राहत कार्यको प्रभावकारिता, क्षतिग्रस्त सडक-पुललगायतका पूर्वाधार पुनर्निर्माण र दीर्घकालीन पुनरुत्थानको कार्ययोजनाबारे सरोकारवाला जनप्रतिनिधिहरूसँग घनीभूत छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा नुवाकोटबाट प्रतिनिधिसभा सदस्यद्वय विक्रम तिमिल्सिना र अच्युतम लामिछानेका साथै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी सहभागी छन्।

यस्तै, रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ सिंहदरबारमै उपस्थित छन् भने गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले भर्चुअल (अनलाइन) माध्यमबाट बैठकमा सहभागिता जनाए।

धादिङबाट गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेकका परशुराम खतिवडा, गजुरीका गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) छलफलमा जुटेका छन्।

त्यसैगरी, तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना (साकार) पनि बैठकमा सहभागी भई आ-आफ्ना क्षेत्रको क्षति र तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्रीलाई अवगत गराइरहेका छन्।

भदौ २९, २०८३ सोमबार ११:४९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।