शिक्षामन्त्री सिरहामा लखेटिएकै हुन्? पोखरेलले दिए यस्तो स्पष्टीकरण

शिक्षामन्त्री सिरहामा लखेटिएकै हुन्? पोखरेलले दिए यस्तो स्पष्टीकरण

काठमाडौं : मधेशमा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि आवश्यक सुझाव संकलन कार्यक्रममा विवाद भएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भ्रम नफैलाउन आग्रह गरेका छन्।

मन्त्री पोखरेल शनिबार सहभागी भएको सिरहाको औरही गाउँपालिकामा आयोजित कार्यक्रममा विवाद भएको थियो। सार्वजनिक भिडियोमा उनी बोल्नेक्रममा होहल्ला हुनुका साथै कार्यक्रम रोक्न भनेर केही व्यक्तिले आक्रोश पोखेको सुनिन्छ। त्यसपछि उनी उक्त कार्यक्रमबाट बाहिरिन्छन्।

सामाजिक सञ्जालमा मन्त्री पोखरेल लखेटिएको भनेर भिडियो भाइरल बनेपछि उनले सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गरे। पोखरेलले शिक्षा सुधारको मूल उद्देश्यलाई कुनै पनि भ्रमले रोक्न नसक्ने बताए।

कार्यक्रममा मन्तव्य दिने क्रममा दुई जना व्यक्तिले होहल्ला गरेपछि अन्य विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित भएको र आफूहरू बाहिरिनुपरेको पोखरेलको भनाइ छ। तर, घटनाको छोटो भिडियो काटेर वास्तविकता बंग्याइएको उनको दाबी छ।

लोकतान्त्रिक पद्धतिमा असहमति राख्ने अधिकार सबैलाई भए पनि पूर्ण सन्दर्भ नबुझी नियोजित भ्रमको पछि नलाग्न उनले आग्रह छ।

"घटनाको एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास भएको छ," पोखरेलले भने, "लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ। तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन।"

भदौ २७, २०८३ शनिबार २१:०६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।