अरुण भ्याली हाइड्रोपावरद्वारा ५.२६३ प्रतिशत लाभांश प्रस्ताव, बुक क्लोज असोज १३ मा
काठमाडौं : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफा तथा सञ्चित कोषबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४ करोड ४ लाख ३ हजार १५० रुपैयाँ रहेको छ।
यसको ५ प्रतिशतले हुन आउने २० करोड २० लाख २० हजार १५७ रुपैयाँ ५० पैसा बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशतले हुन आउने १ करोड ६ लाख ३२ हजार ३२० रुपैयाँ ८९ पैसा नगद लाभांश गरी कुल २१ करोड २६ लाख ५२ हजार ४७८ रुपैयाँ ३९ पैसा लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी असोज २७ गते आफ्नो २९औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। विद्युत नियमन आयोग र कम्पनीको साधारणसभाबाट पारित भएपछि मात्रै यो लाभांश सेयरधनीले पाउनेछन्।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी असोज १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।
तसर्थ, असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
भदौ २९, २०८३ सोमबार १२:१०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।