फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, तीन जनाको मृत्यु
एजेन्सी : फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार आइतबार मध्यरातअघि कोटाबाटो सहरस्थित एक मतदान केन्द्रमा घटना भएको हो।
मतदानका लागि लाइनमा बस्ने विषयमा प्रतिद्वन्द्वी राजनीतिक समूहबीच विवाद भएपछि धकेलाधकेल र हात हालाहाल भएको थियो। विवाद बढ्दै जाँदा गोली चलेको प्रहरीले जनाएको छ।
यो घटना बाङ्सामोरो स्वायत्त क्षेत्रको पहिलो निर्वाचित संसद् चयनका लागि सोमबार सुरु भएको निर्वाचनको पूर्वसन्ध्यामा भएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार यस निर्वाचनमा २० लाखभन्दा बढी मतदाता मतदानका लागि योग्य छन्। १३ राजनीतिक दलबाट ८० संसदीय सिटका लागि उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।
निर्वाचनलाई लक्षित गर्दै बाङ्सामोरो क्षेत्रमा पछिल्ला दिनमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
मतदान केन्द्रहरूको सुरक्षाका लागि २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्भावित हिंसात्मक घटनाको तत्काल सामना गर्न द्रुत प्रतिक्रिया टोलीसमेत परिचालन गरिएको छ।
भदौ २९, २०८३ सोमबार १०:४७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।