असन्तुष्ट समूह समेट्न लचक भयो कांग्रेस, १५ औँ महाधिवेशनमा छुटेका र पूर्व केन्द्रीय सदस्य सबै सहभागी हुन सक्ने

असन्तुष्ट समूह समेट्न लचक भयो कांग्रेस, १५ औँ महाधिवेशनमा छुटेका र पूर्व केन्द्रीय सदस्य सबै सहभागी हुन सक्ने

काठमाडौँ : असन्तुष्ट समूहलाई समेट्न  नेपाली कांग्रेस लचक बन्दै क्रियशिल सदस्य बन्न छुटेका र १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित दुबैलाई समेट्न तयार भएको छ।

असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारीमा रहेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुन छुटेका क्रियाशील सदस्यहरूलाई समेत समेट्ने निर्णय गरेको छ। 

पार्टी सदस्यता व्यवस्थापन प्रणालीमा २०८२ पुस २१ गतेसम्म प्रविष्ट भएका तर विभिन्न कारणले अद्यावधिक हुन छुटेका क्रियाशील सदस्यहरूलाई महाधिवेशन प्रक्रियाबाट वञ्चित नगरिने निर्णय बैठकले गरेको छ। 

यद्यपि, पार्टी परित्याग गरेका, अनुशासनको कारबाहीमा परेका तथा प्रचलित कानुनअनुसार पार्टी सदस्य बन्न नमिल्ने व्यक्तिहरू भने यस व्यवस्थाबाट बाहिर रहनेछन्। 

विशेष महाधिवेशनमा सहभागी नभएका तर त्यसपछि सदस्यता अद्यावधिक तथा महाधिवेशन प्रक्रियामा सक्रिय रूपमा जोडिएका नेता–कार्यकर्ताको भूमिकाको बैठकले सम्मान गरेको छ।

त्यस्तै, कांग्रेसले विशेष महाधिवेशन सम्पन्न हुनुअघिका तत्कालीन केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई १५औँ महाधिवेशन प्रक्रियामा केन्द्रीय कार्यसमितिको सदस्यकै हैसियतमा सहभागी गराउन विधानबमोजिम आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ। 

विधानको धारा ४(९) बमोजिम महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिले पेस गरेको क्रियाशील सदस्यहरूको नामावलीलाई पनि बैठकले स्वीकृत गरेको छ।

बैठकले आगामी असोज ३ र ४ गते वडा अधिवेशन गर्ने र त्यसपछि क्रमशः तहगत अधिवेशनहरू सञ्चालन गर्ने तालिका तय गरेको छ। महाधिवेशनको औपचारिक उद्घाटन भने असोज १६ गते दिउँसो १ बजे काठमाडौँको खुलामञ्चमा गरिने कांग्रेसले जनाएको छ। 

बैठकले तोकिएको जिम्मेवारीअनुसार निर्वाचन समितिसँग समन्वय गरी सबै तहका अधिवेशन सफल बनाउन सम्बन्धित कार्यसमितिलाई निर्देशन दिएको छ। यदि जिम्मेवारी पूरा नगरिएमा विधानअनुसार वैकल्पिक व्यवस्था गरिने निर्णयमा उल्लेख छ।

बैठकले महाधिवेशनलाई केवल प्राविधिक प्रक्रिया नभई पार्टीको राजनीतिक ‘महाउत्सव’ भएको उल्लेख गर्दै पार्टीभित्रका असहमति, चासो र गुनासोहरूलाई संवाद, सहमति र सहकार्यबाट समाधान गर्ने प्रतिबद्धता दोहोर्याएको छ। साथै, वडा तहदेखि केन्द्रसम्मका सबै नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक सहभागी हुन आह्वान गरिएको छ।

भदौ २८, २०८३ आइतबार २२:१८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।