प्रहरीको ‘अपरेशन टिमुरे टु त्रिवेणी’ : ६५ शव व्यवस्थापन, ४७ जनाको डिएनए परीक्षण

प्रहरीको ‘अपरेशन टिमुरे टु त्रिवेणी’ : ६५ शव व्यवस्थापन, ४७ जनाको डिएनए परीक्षण

विदुर : बाढी प्रभावित क्षेत्रमा सञ्चालित नेपाल प्रहरीको विशेष ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनअन्तर्गत खोज, उद्धार तथा शव व्यवस्थापन कार्यलाई तीव्रता दिइएको छ।

प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटसँगको समन्वयमा बेपत्ताको खोजी, पहिचानका लागि ‘डिएनए प्रोफाइलिङ’, धनमाल सुरक्षा र राहत सहजीकरणको कामलाई अगाडि बढाएको हो।

अभियानको समन्वयका लागि नुवाकोटमा खटिनुभएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद सिलवालका अनुसार गत भदौ १९ गतेदेखि हालसम्म ६५ वटा शव व्यवस्थापन गरिएको छ।

जसमध्ये सनाखत हुन नसकेका ४६ नेपाली र एक भारतीय नागरिक गरी ४७ वटा शवको डिएनए नमुना संकलन गरिएको छ। डिएनए संकलन गरिएकामा आठ महिला, सात बालिका र एक बालक रहेका छन्।

संकलित नमुनामध्ये ३७ वटा परीक्षणका लागि काठमाडौंस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइसकिएको र बाँकी १० वटा पठाउने क्रममा रहेको प्रहरीले जनाएको छ। नमुना संकलन कार्य प्रहरीको लेभल-१ अस्पतालमा गरिएको हो।

कुकुर र ड्रोनबाट खोजी तीव्र
बाढीका कारण भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रबाट बेपत्ता भएकाहरूको खोजीका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएको छ।

कुकुर पुग्न नसक्ने अप्ठ्यारा खोँच र जोखिमयुक्त स्थानहरूमा ड्रोन प्रविधिमार्फत खोजी भइरहेको छ। ‘नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’मार्फत प्रभावित क्षेत्रका युनिटहरूलाई खोजी कार्य प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइएको छ।

खोजी तथा उद्धारका क्रममा बाढीले पुरेका घर तथा भौतिक संरचनाबाट महत्त्वपूर्ण धनमाल र अत्यावश्यक वस्तु निकाल्ने कार्यसमेत भइरहेको छ।

फेला परेका शव तथा मानव अंगहरूको कानुनी मुचुल्का तयार गरी व्यवस्थापन गर्नुका साथै भेटिएका नगद, सुनचाँदी, बैंक कार्ड तथा महत्त्वपूर्ण सरकारी एवं व्यक्तिगत कागजात सम्बन्धित धनीलाई बुझाउने काम भइरहेको एसएसपी सिलवालले जानकारी दिए।

रसुवासँग समन्वय र सेनासँग कार्यविभाजन
प्रहरी टोलीले रसुवाबाट नुवाकोट ल्याइएका शवहरूको व्यवस्थापन गर्नुका साथै रसुवातर्फ राहत सामग्री पठाउनसमेत सहजीकरण गरिरहेको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना विशेषगरी सुरुङलगायत जोखिमयुक्त स्थानमा उद्धार, अवरुद्ध सडक तथा अत्यावश्यक पूर्वाधार निर्माण र पीडितका आफन्त ओसारपसारमा केन्द्रित रहेको छ।

भदौ २७, २०८३ शनिबार १४:२३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।