उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस
काठमाडौं : गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा सुनसरी-४ बाट निर्वाचित सांसद दीपककुमार साहलाई सिफारिस गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले उनलाई मन्त्रीमा नियुक्तिका लागि बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। साहलाई आजै शपथ गराउने तयारी छ।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट चुनाव लडेका साहले कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै विजयी भएका थिए। यसअघि जनमत पार्टीका उपाध्यक्ष रहिसकेका उनले पार्टीभित्रको विवाद र अनुशासन उल्लंघनका कारण निलम्बन परेपछि सर्वोदय पार्टी खोलेका थिए।
तर, निर्वाचनमा भने रास्वपासँग मिलेका साहले रास्वपाको चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता गराए। पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा स्नातक तथा प्राकृतिक स्रोत विकासमा स्नातकोत्तर गरेका उनीसँग जलविद्युत क्षेत्रमा २३ वर्ष काम गरेको अनुभव छ।
पदभार ग्रहण लगत्तै बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्नु उद्योगमन्त्रीका रूपमा उनको पहिलो र मुख्य चुनौती रहनेछ।
भदौ २५, २०८३ बिहीबार १८:२१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।