‘सुरक्षित मातृत्त्व’का सरकारी नारा बाजुराका भीरमा ठोक्किन्छन् अनि बाटो र ओढारमै जन्मन्छन् शिशु

‘सुरक्षित मातृत्त्व’का सरकारी नारा बाजुराका भीरमा ठोक्किन्छन् अनि बाटो र ओढारमै जन्मन्छन् शिशु
फाइल तस्बिर

बाजुरा : राजधानी काठमाडौं र प्रदेशका ठूला सहरका वातानुकूलित हलहरूमा ‘सुरक्षित मातृत्व’ र ‘सुनौला हजार दिन’ का नाममा बर्सेनि करोडौंका गोष्ठी र सेमिनार हुन्छन्।

तर, दूरदराज बाजुराका आमाहरूको नियति भने अझै फेरिएको छैन। यहाँका गर्भवतीका लागि अस्पतालको प्रसूति शय्या होइन, अझै पनि हिँड्दा-हिँड्दैको ढुङ्गे बाटो, स्ट्रेचर र ओडार नै सुत्केरी हुने थलो बनिरहेका छन्।

यस्तै अवस्था भोगिन् खप्तड छेडेदह गाउँपालिका-४ की २६ वर्षीया कमला बोगटीले। मंगलबार दिउँसो बूढीगङ्गा नगरपालिका-६ स्थित फलासैन बजारमाथिको खुला सडकको धुलाम्मे बाटोमै उनले छोरालाई जन्म दिइन्।

कमलालाई सडक किनारमा प्रसव पीडाले छटपटाइरहेको देखेपछि स्थानीयले स्वास्थ्यकर्मीलाई गुहारेका थिए। खबर पाउनासाथ बाजुरा स्वास्थ्य चौकी टाँटेका स्वास्थ्यकर्मी हस्त खडायत, ईश्वरी केसी र जिल्ला अस्पतालकी नर्स निशा रोकायाले बाटोमै आकस्मिक प्रसूति सेवा दिए।

“हामी पुग्दा कमलाले बाटोमै शिशु जन्माइसक्नुभएको थियो। बच्चाको अवस्था सुरुमा केही असहज देखिए पनि केहीबेरमा रुन थाल्यो,” नर्स रोकायाले भनिन्, “त्यहीँ सालनाल काटेर व्यवस्थापन गर्यौँ र आमा-बच्चालाई तत्काल स्वास्थ्य चौकी ल्यायौँ। अहिले दुवैको अवस्था सामान्य छ।”

नियमित गर्भजाँच, तर सुत्केरी हुन बाटोको यात्रा
आश्चर्य त के भने, कमला कुनै स्वास्थ्य सेवा नपाएर बाटोमा सुत्केरी भएकी भने होइनन्। उनले आठ महिनासम्म गुदुखाती स्वास्थ्य चौकीमा नियमित गर्भ जाँच गराउँदै आएकी थिइन्। उनलाई बाटोमा पुर्याउने मुख्य कारक बन्यो- अन्धविश्वास।

भदौ १९ गते कृष्ण जन्माष्टमी मनाउन बडीमालिका नगरपालिका-६, कोर्ध गाउँमा रहेको माइतीघर पुगेकी कमलालाई २२ गतेदेखि नै व्यथा लागेको थियो। तर ‘विवाहित छोरीले माइतीमा बच्चा जन्माए कुलदेवता रिसाउँछन्’ भन्ने रूढीवादी मान्यताका कारण परिवारले उनलाई अस्पताल लैजानुको सट्टा घर फर्काए।

माइतीबाट एक घण्टामै पुगिने जडाङ्गा स्वास्थ्य चौकी वा दुई घण्टाको दूरीमा रहेको जिल्ला अस्पताल जान छाडेर कमला चर्को व्यथा च्याप्दै पैदलै घरतर्फ हिँडिन्। अन्ततः गन्तव्य नपुग्दै बाटोमै उनले सन्तान जन्माइन्।

खप्तड छेडेदह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश ओली भन्छन्, “चेतनास्तर बढेको भनिए पनि अन्धविश्वासको जरा कति गहिरो छ भन्ने यसले देखाउँछ। स्वास्थ्य संस्था पहुँचबाहिर नभए पनि परम्परागत गलत सोचले आमा र शिशुको ज्यान जोखिममा पर्यो।”

दुई महिनामै पाँच महिला बाटोमै सुत्केरी, ओडारमै जन्मिए शिशु
बाजुरामा बाटोमै बच्चा जन्माउने कमला एक्ली महिला भने होइनन्। यसै वर्षको असारयता मात्र जिल्लाका कम्तीमा पाँच महिलाले बाटो र ओडारमा बच्चा जन्माइसकेका छन्।

साउन १५ गते स्वामीकार्तिक खापर गाउँपालिका-२, उदिनाकी २४ वर्षीया सौरी बुढाले स्वास्थ्य संस्था टाढा हुँदा ओडारमै बच्चा जन्माइन्।

साउन १८ गते सोही गाउँपालिका-३, जोरुकी २४ वर्षीया अनिता महतारालाई व्यथा लागेपछि युवाहरूले स्ट्रेचरमा बोकेर स्वास्थ्य संस्था लैजाँदै गर्दा बीच बाटोमै सुत्केरी भइन्।

साउन १० गते गौमूल गाउँपालिका-५ की २० वर्षीया कमला बुढाले लगातारको वर्षा र सडक अवरुद्ध हुँदा अस्पताल पुग्न नपाई बाटोमै शिशुलाई जन्म दिइन्।

विकट भूगोल, हिलाम्मे सडक र स्ट्रेचरको भर
जिल्लाका धेरैजसो गाउँमा सडकको ट्रयाक खुले पनि वर्षायाममा पहिरोले सधैँ अवरुद्ध हुन्छ। एम्बुलेन्स चल्दैनन्। यस्तो बेला गर्भवतीलाई डोको वा स्ट्रेचरमा बोकेर घण्टौ हिँडाउनुको विकल्प हुँदैन।

स्थानीय खगेन्द्र रावल भन्छन्, “सरकारका सुरक्षित मातृत्वका नारा बाजुराका भीरपहरामा पुगेर ठोक्किन्छन्। व्यथा लागेपछि अस्पताल पुर्याउनै महाभारत हुन्छ।”

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य अधिकृत विनोद धामीका अनुसार गत वर्ष बाजुरामा १ हजार २२२ महिलाले स्वास्थ्य संस्थामा र ३३ जनाले घरमै जोखिमपूर्ण रूपमा शिशु जन्माएका थिए।

“घर र बाटोमा हुने असुरक्षित सुत्केरी रोक्न स्वास्थ्यकर्मीको प्रयास मात्र पर्याप्त छैन,” धामी भन्छन्, “एकातिर बाटोघाटो र एम्बुलेन्सजस्ता पूर्वाधार छैनन्, अर्कातिर अन्धविश्वास र व्यथा च्यापेर अन्तिम समयसम्म घरमै बस्ने प्रवृत्ति छ। यसलाई नचिरेसम्म हाम्रा आमाहरूले यसरी नै बाटोमै जीवनमरणको लडाइँ लडिरहनुपर्नेछ।”

राससमा टेकबहादुर बुढाले लेखेको समाचार सम्पादनसहित प्रकाशित

भदौ २५, २०८३ बिहीबार ०९:३०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।