एक दशकदेखि धनुष्टंकार उन्मूलन कायम राखेकामा नेपाललाई डब्लुएचओको सम्मान
काठमाडौं : मातृ तथा नवजात शिशु धनुष्टंकार रोगलाई एक दशकदेखि निरन्तर उन्मूलनको अवस्थामा राख्न सफल भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई सम्मान गरेको छ।
टिमोर-लेस्टेको डिलीमा आयोजित डब्लुएचओ दक्षिण-पूर्वी एसिया क्षेत्रीय समितिको ७९ औँ बैठकमा नेपाललाई यो सम्मान प्रदान गरिएको हो। डब्लुएचओका महानिर्देशकले नेपाली प्रतिनिधिमण्डलकी प्रमुख एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्।
नेपालले देखाएको बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवाको पहुँच र सुरक्षित प्रसूति अभ्यासका कारण यो सफलता कायम राखेको डब्लुएचओले जनाएको छ। सम्मानपत्रमा नेपालको यो निरन्तरको उपलब्धिले दक्षिण-पूर्वी एसियाली क्षेत्रमा मातृ तथा नवजात धनुष्टंकार नियन्त्रण कायम राख्ने सामूहिक प्रयासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख छ।
यसैबीच, देशमा आएको विनाशकारी बाढीका कारण स्वास्थ्य प्रतिकार्य, समन्वय तथा जीवनरक्षाका कार्यमा प्रत्यक्ष खटिनुपर्ने भएकाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बैठकमा सहभागी थिइनन्।
मन्त्री मेहताले भिडियो सन्देशमार्फत नेपालमा बाढीबाट सिर्जित संकट र प्रभावित जनसमुदायको अवस्थाबारे जानकारी गराउँदै जलवायु न्याय तथा स्वास्थ्यका लागि जलवायु वित्तको आवश्यकता औँल्याएकी छिन्।
भदौ २३, २०८३ मंगलबार १२:३२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।