जेनजी आन्दोलनका शहीदको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

जेनजी आन्दोलनका शहीदको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं : भ्रष्टाचार अन्त्य र सुशासनको माग राख्दै भएको ‘जेनजी आन्दोलन’को एक वर्ष पुगेको अवसरमा मंगलबार काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा दीप प्रज्वलन गरियो।

गत वर्ष भदौ २३ र २४ गते भएको उक्त आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा दीप प्रज्वलन कार्यक्रम गरिएको थियो। शान्तिपूर्ण रूपमा भएको प्रदर्शन उग्र बन्दा भीड नियन्त्रण लिने नाममा चलाइएको गोली लागेर पहिलो दिनमै १९ जनाले ज्यान गुमाएका थिए।

सोही घटनाको विरोधमा दोस्रो दिन भदौ २४ गते देशभर जनआक्रोश बढ्दा मानवीयसँगै ठूलो भौतिक क्षतिसमेत हुन पुग्यो। राज्यका प्रमुख अङ्ग संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालत प्रदर्शनकारीको निसानामा परे र आगजनी गरियो।

दुई दिनसम्म चलेको उक्त आन्दोलनका क्रममा देशभर ७७ जनाको मृत्यु भएको थियो। सरकारले आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई ‘जेनजी शहीद’ घोषणा गरिसकेको छ।

भ्रष्टाचार अन्त्य र सुशासन नारा दिए भएको आन्दोलन र आन्दोलनको क्रममा शहीद भएकाहरूको सम्झनामा मंगलबार साँझ आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको संसद् भवनमा दीप प्रज्वलनका लागि भेला भएका सहभागीहरूले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। 

भदौ २३, २०८३ मंगलबार २२:३१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।