शिशिरपछि सन्तोषको पालो?
काठमाडौं : फिल्म ‘होस्टेल ३’मा खलनायकको भूमिकामा देखिएका सन्तोष बानियाँ यतिबेला चर्चामा छन्। यही भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली’मा पनि उनी खलनायककै भूमिकामा देखिँदै छन्। फिल्ममा प्रयोग गरिएको उनको लुक्स र संवादले चर्चा पाइरहेको छ।
फिल्ममा ग्याङ लिडर बनेका सन्तोषको ‘बारुदको बम र गेडीको दम चिनेकै छैनन् तिनीहरूले’ भन्ने संवाद निकै दमदार देखिन्छ। फिल्मको व्यावसायिक सफलता कस्तो हुन्छ भन्ने विषय ठाउँमा छ, तर उनले निर्वाह गरेको पात्रले दर्शकमाझ राम्रो छाप छाड्न सक्ने सम्भावना देखिन्छ।
यसअघि मरीचमान श्रेष्ठ (बल्छी धुब्रे) को फिल्म ‘गोबर गणेश’मा पनि उनी खलनायककै भूमिका निर्वाह गरे। उक्त फिल्मबाट उनको खासै चर्चा नभए पनि ‘बेहुली’मा गरेको अभिनयले भने बेग्लै छाप छोड्न सक्ने सम्भावना देखाएका छन्।
खलनायकका रूपमा सन्तोषको उदयसँगै पछिल्लो समय यही भूमिकामा जमिरहेका शिशिर बाङ्देललाई चुनौती थपिन सक्ने देखिन्छ। नेपाली फिल्ममा विगतदेखि नै एकपछि अर्को शक्तिशाली खलनायकहरूबीच प्रतिस्पर्धा हुने गरेको तथ्य हामी देख्न पाउँछौं।
कुनै समय खलनायकको भूमिकामा सुनिल थापा, राजेन्द्र खड्गी, मुकुन्द श्रेष्ठ, हेमन्त बुढाथोकी र मुकुन्द थापाहरूको दबदबा रहने गर्थ्यो। त्यसपछि नागेन्द्र रिसाल, दिनेश शर्मा, टार्जन लगायतको उदय भए पनि उनीहरूले लामो समय टिक्न सकेनन्। उनीहरू पलायन भए।
अहिले खलनायकका रूपमा शिशिर बाङ्देलको समय छ। अब सन्तोषको आगमनले शिशिरको दबदबामा कस्तो असर पार्ला वा फिल्म क्षेत्रमा उनको स्थान कस्तो रहला भन्ने कुरा आगामी शुक्रबार फिल्म प्रदर्शन भएपछि नै स्पष्ट हुनेछ।
भदौ २३, २०८३ मंगलबार १९:०४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।