सेन्सरबाट ‘अक्षरा’लाई युनिभर्सल सर्टिफिकेट
काठमाडौं : भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ले चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको छ। फिल्मले युनिभर्सल सर्टिफिकेट पाएसँगै यो फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने छन्।
२ घण्टा १४ मिनेट लम्बाइ रहेको फिल्म अक्षरालाई विनयराज पौडेलले निर्देशन गरेका हुन्। यो उनको डेव्यु निर्देशकीय फिल्म हो। छोरीले सुख पाउँछे भनेर चिन्दै नचिनेको धनी केटासँग विवाह गराइदिएपछि उत्पन्न हुने पारिवारिक समस्याका बारेमा फिल्मको कथाले बोल्छ।
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’बाट चर्चामा आएकी न्यान्सी खड्का यस फिल्ममा मुख्य भूमिकामा देखिनेछिन्। उनका अलावा फिल्ममा सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा), सृष्टि खड्काले अभिनय गरेका छन्।
साथै बालकलाकारमा रोनक खड्का र प्रीसा ढुङ्गाना छन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन्।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा निर्माता उग्रसेन आफैले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।
फिल्मको प्रस्तुतिकर्ता सोनी थापा (ढुङ्गाना) हुन् भने फिल्मलाई दिपेन बस्न्यातले खिचेका हुन्। साथै सम्पादनको जिम्मा गौतम खड्काको छ। नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्न लागेको यस फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। यो फिल्मसँगै अन्य दुई फिल्म ‘पेन्सन पट्टा’ र ‘बेहुली’पनि प्रदर्शनमा आउँदै छ।
भदौ २३, २०८३ मंगलबार १४:४५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।