धार्मिक समूहको भ्रमणका क्रममा महिला कर्मचारीलाई हटाएको विरोधमा आइफिल टावर बन्द, पेरिसका मेयरद्वारा छानबिनको घोषणा

धार्मिक समूहको भ्रमणका क्रममा महिला कर्मचारीलाई हटाएको विरोधमा आइफिल टावर बन्द, पेरिसका मेयरद्वारा छानबिनको घोषणा

एजेन्सी : फ्रान्सको राजधानी पेरिसस्थित विश्वप्रसिद्ध आइफिल टावर सोमबार कर्मचारीको हडतालका कारण बन्द भएको छ।

हिन्दू धार्मिक समूहसँग सम्बन्धित करिब १०० जनाको प्रतिनिधिमण्डल भ्रमणमा आउँदा महिला कर्मचारीलाई कार्यस्थलबाट हटाएर उनीहरूको स्थानमा पुरुष कर्मचारी राखिएको घटनाको विरोधमा कर्मचारी हडतालमा उत्रिएका हुन्।

कर्मचारी तथा व्यवस्थापनका अनुसार, बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस )सँग सम्बन्धित करिब १०० जनाको प्रतिनिधिमण्डलले शनिबार आइफिल टावरको भ्रमण गरेको थियो। फ्रान्सको पेरिस उपनगरमा आफ्नो पहिलो ठूलो मन्दिरको उद्घाटन कार्यक्रमका लागि उक्त धार्मिक समूह त्यहाँ पुगेको थियो।

आइफिल टावरका कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा भ्रमणका क्रममा महिला कर्मचारीहरूलाई हटाइएको र उनीहरूको ठाउँमा पुरुष राखिएको भन्दै भर्त्सना गरिएको छ।

"महिला कर्मचारीहरू र ठेकेदार कम्पनीका महिला कामदारहरूलाई उक्त टोलीको स्वागतका क्रममा आफूलाई हटाउन निर्देशन दिइएको थियो," विज्ञप्तिमा भनिएको छ, "केही महिलालाई उनीहरूको कार्यक्षेत्र छाडेर अन्यत्र जान भनियो र उनीहरूको ठाउँमा पुरुष कर्मचारी राखियो। साथै टोली उपस्थित भएसम्म निश्चित क्षेत्रबाट नहिँड्न निर्देशन दिइएको थियो।"

कर्मचारी युनियनकी प्रतिनिधि डियान डाभोइनका अनुसार धार्मिक समूह आइफिल टावरमा आइपुगेपछि त्यहाँ कार्यरत महिला कर्मचारीलाई आफ्नो कार्यस्थलबाट हट्न व्यावसायिक निर्देशन दिइएको थियो। उनका अनुसार घटनापछि व्यवस्थापनले कर्मचारीहरूसँग माफीसमेत मागेको थियो। तर, महिला कर्मचारीलाई गरिएको व्यवहारले कर्मचारीहरू असन्तुष्ट र अपमानित महसुस गरेका छन्।

"यस घटनाले कर्मचारीहरू, विशेषगरी महिलाहरूलाई निकै अपमानित महसुस गराएको छ। उनीहरूसँग जसरी व्यवहार गरियो, त्यो कर्मचारीहरूका लागि स्वीकार्य हुन सकेन," डाभोइनले भनिन्।

डाभोइनका अनुसार भविष्यमा यस्तो व्यवहार नदोहोरियोस् भन्नका लागि विरोधमा उत्रिनु परेको हो।

व्यवस्थापनको स्वीकारोक्ति र माफी 

आइफिल टावर सञ्चालन गर्ने कम्पनी एसइटिइले पनि प्रतिनिधिमण्डलले भ्रमणका क्रममा ‘महिलासँगको अन्तरक्रिया सीमित गर्ने’ व्यवस्था गर्न आग्रह गरेको स्वीकार गरेको छ।

फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार एसइटिइले त्यस्ता सर्त स्वीकार गर्नु नै गलत भएको जनाएको छ। कम्पनीले ती सर्तहरू आफ्नो मूल्य–मान्यता तथा महिला र पुरुषबीच समानताको सिद्धान्तसँग मेल नखाने बताएको छ।

एसइटिइका अध्यक्ष एरियल वेइलले घटनालाई स्पष्ट रूपमा अस्वीकार्य अभ्यास भन्दै आइफिल टावर महिला र पुरुषबीच समानता तथा फ्रान्सका गणतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहेको बताएका छन्।

"यो स्पष्ट रूपमा स्वीकार्य अभ्यास होइन। म आइफिलटावरको गणतान्त्रिक मूल्य र महिला तथा पुरुषबीचको समानताप्रतिको प्रतिबद्धता दोहोर्याउँछु," वेइलले भने।

बीएपीएसले माग्यो माफी

घटनाको केही दिनअघि  बीएपीएसले पेरिसको उपनगरमा फ्रान्समा आफ्नो पहिलो ठूलो मन्दिरको प्राणप्रतिष्ठा गरेको थियो। त्यसपछि शनिबार आइफिल टावरमा उक्त समूहसँग सम्बन्धित प्रतिनिधिमण्डल पुगेको थियो। 

पेरिसस्थित  बीएपीएस मन्दिरले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा टोली ठूलो भएकाले अन्य आगन्तुकलाई असुविधा नहोस् भनेर आइफिल टावरको व्यवस्थापन टोलीसँगको समन्वयमा सामान्य खुल्ने समयको सुरुवातमै आयोजना गरिएको जनाएको छ। तर, भ्रमणका क्रममा उत्पन्न घटनाप्रति उसले दुःख व्यक्त गर्दै ‘पीडा वा असुविधा भएको भए’ त्यसका लागि माफी मागेको छ।  बीएपीएसले आफूले ‘पारस्परिक सम्मान र सेवाका सार्वभौमिक मूल्यमा विश्वास गर्ने’ पनि जनाएको छ।

बीएपीएसले आफ्नो वेबसाइटमा आफूलाई हिन्दू मूल्यका माध्यमबाट समाज सुधारमा समर्पित ‘आध्यात्मिक तथा स्वयंसेवकद्वारा सञ्चालित संस्था’का रूपमा उल्लेख गरेको छ। यसका लन्डन, लस एन्जलस र सिड्नी लगायत विश्वका प्रमुख सहरमा मन्दिरहरू छन्।

पेरिसका मेयरद्वारा छानबिनको घोषणा

घटनाप्रति पेरिसका मेयर इमानुएल ग्रेगोआरले पनि प्रतिक्रिया जनाएका छन्। उनले आइफिल टावर भ्रमणका क्रममा के भएको थियो भन्नेबारे छानबिन गरिने बताएका छन्।

उनले सामाजिक सञ्जाल एक्समा आइफिल टावरका कर्मचारीले व्यक्त गरेको आक्रोशलाई आफूले बुझेको भन्दै उनीहरूको असन्तुष्टि जायज रहेको बताएका छन्। 

फ्रान्सकी दक्षिणपन्थी नेतृ मरीन ले पेनले पनि घटनाको विरोध गर्दै फ्रान्समा महिलाको उपस्थितिलाई ‘सीमित’ गर्ने कुरा कहिल्यै स्वीकार्य नहुने बताएकी छन्।

अर्का पूर्वमध्यमार्गी–दक्षिणपन्थी फ्रान्सेली प्रधानमन्त्री गाब्रियल अत्तालले पनि कुनै संस्कृति, विश्वास, धर्म वा व्यक्ति फ्रान्सेली महिलाको स्थान निर्धारण गर्ने अवस्थामा नरहेको बताएका छन्। आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने बताउँदै आएका अत्तालले फ्रान्समा कुनै पनि संस्कृति, आस्था वा धार्मिक अभ्यासले महिलालाई उनीहरूको स्थानबारे निर्देशन दिन नसक्ने बताएका हुन्।

फ्रान्सेली राष्ट्रिय सभाकी अध्यक्ष याएल ब्राउन–पिभेले पनि विदेशी आगन्तुकको माग पूरा गर्न महिलालाई आफ्नो स्थानबाट हट्न बाध्य पारिने अवस्था आफूले स्वीकार नगर्ने बताएकी छन्।

वार्षिक करिब ७० लाख पर्यटकले भ्रमण गर्ने आइफेल टावर सोमबार हडतालका कारण दिनभर बन्द रहे पनि मङ्गलबारदेखि भने नियमित रूपमा पुनः सञ्चालनमा आउने बताइएको छ।  

भदौ २३, २०८३ मंगलबार १४:१३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।