भारतको मध्य प्रदेशमा मदिरा सेवनबाट १५ जनाको मृत्यु, १०० भन्दा बढी बिरामी
एजेन्सी : भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा विषाक्त मदिरा सेवनका कारण १५ जनाको मृत्यु भएको छ।
विषाक्त मदिरा सेवनका कारण बिरामी परेका १०० भन्दा बढीको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ।
सरकारी अधिकारीका अनुसार अस्पताल भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। मृतक तथा बिरामीहरू आसपासका विभिन्न गाउँका बासिन्दा हुन्।
उनीहरूमा बान्ता हुने, चक्कर लाग्ने र धमिलो देखिनेजस्ता लक्षण देखिएका छन्। साथै मिर्गौलामा समेत असर देखिएकाले मिथाइल अल्कोहलका कारण विषाक्तता भएको आशंका गरिएको छ।
स्थानीय प्रहरीले कम्तीमा २० जनाविरुद्ध उजुरी दर्ता गरिएको र तीमध्ये १० जनालाई पक्राउ गरिएको जनाएको छ। घटनामा संलग्न दोषीहरूमाथि कडा कानुनी कारबाही गरिने प्रहरीले बताएको छ।
भदौ २३, २०८३ मंगलबार १३:२१:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।