इरानसँगको युद्ध जितेपछि तेलको मूल्य प्रति ग्यालन २ डलरभन्दा कम हुने ट्रम्पको दाबी
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि इन्धनको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा कम हुने दाबी गरेका छन्।
आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा एक पोस्ट गर्दै ट्रम्पले मध्यपूर्वमा जारी सैन्य कारबाही कारबाहीका कारण इन्धनको मूल्य बढेको दाबी गरे। युद्ध समाप्त भएपछि ऊर्जा बजार पनि तीव्र रूपमा स्थिर हुने उनले बताए।
"हामीले इरानसँगको युद्ध जितेपछि तेलको मूल्य अत्यन्त तीव्र रूपमा घट्नेछ," ट्रम्पले लेखेका छन्, "शुरुमा प्रति ग्यालन तीन डलर र अन्ततः दुई डलरभन्दा तल झर्नेछ।"
ट्रम्पले इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन नदिने आफ्नो प्रतिबद्धता दोहोऱ्याउँदै थपे, "यो सबै छिट्टै हुनेछ र इरानसँग कहिल्यै आणविक हतियार हुनेछैन।"
यसको जवाफमा इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिएका छन्। सोमबार एक्समार्फत पोस्ट गर्दै गालिबफले इरानको तेल तथा ग्यास उत्पादन प्रणाली ‘व्यापक, पहुँचयोग्य र जोखिममा रहेको’ बताएका छन्।
उनले लेखेका छन्, "यस क्षेत्रका पानी र सुविधाहरूमा रहेका अमेरिकी तेल तथा ग्यास कम्पनीहरूले पनि उस्तै जोखिम सामना गरिरहेका छन्। हाम्रा संरचनामा प्रहार गर्नुभयो भने तपाईंहरूमाथि पनि प्रहार हुनेछ। हामीले यो सिद्ध गरिसकेका छौँ, अब प्रयोगमा नरहेका आफ्ना सैन्य बेसहरूलाई सोध्नुहोस्।"
यसैबीच, अमेरिकी युद्धमन्त्री पीट हेग्सेथले इरानले अमेरिकी जहाजमाथि आक्रमण गरे इरानी तेल ट्याङ्कर नष्ट गर्ने चेतावनी दिएका छन्। उनले इरानसँग प्रभावकारी नौसेना तथा वायुसेना नरहेको दाबी गर्दै अमेरिकी विमान, जहाज र पनडुब्बीले इरानी सैन्य तथा तेल पूर्वाधारमाथि प्रहार गर्न सक्ने बताए।
हेग्सेथ भनेका थिए, "कुरा सीधा छ, यदि इरानले अमेरिकी जहाजहरूमाथि गोली चलाउँछ भने, हामी उनीहरूका तेल ट्याङ्करहरू ध्वस्त गर्नेछौँ। उनीहरूले केवल अमेरिकी नौसेनामाथि प्रहार नगरे पुग्छ। इरानको तेल ट्याङ्कर फ्लिट रक्षाहीन छ, इरानसँग न जलसेना छ न त वायुसेना नै। हाम्रा विमान, जहाज र पनडुब्बीहरूले सेन्टकम र इन्डो-प्यासिफिक कमान्डमा रहेका उनीहरूका सबै संरचनामा प्रहार गर्न सक्छन्।"
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले तीन इरानी कच्चा तेल ट्याङ्कर आइआरजिसी र उसका क्षेत्रीय सहयोगीलाई आर्थिक सहयोग गर्ने अर्बौं डलरको ‘छाया सञ्जाल’ को हिस्सा रहेको दाबी गरेको छ। सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले आवश्यक परे इरानको तेल ट्याङ्कर बेडामाथि कारबाही गर्न अमेरिका पछि नहट्ने बताए।
अमेरिकाले युद्धलाई विजय र ऊर्जा मूल्य घट्ने दाबीसँग जोडिरहँदा इरानले ऊर्जा पूर्वाधारमाथि आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। बढ्दो तनावले विश्व ऊर्जा बजारमा समेत असर पर्नसक्ने चिन्ता बढेको छ।
भदौ २३, २०८३ मंगलबार १२:११:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।