प्रदर्शनअघि फिल्म ‘पेन्सन पट्टा’को टोलीलाई भारतीय दूतावासले किन बोलायो ?

प्रदर्शनअघि फिल्म ‘पेन्सन पट्टा’को टोलीलाई भारतीय दूतावासले किन बोलायो ?

काठमाडौं : आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पेन्सन पट्टा’को निर्माण टोलीलाई भारतीय दूतावासले बोलाएपछि फिल्म क्षेत्रमा यो चासोको विषय बन्यो। 

पेन्सन पट्टाको विषयमा हुने गरेका विवादलाई कथावस्तु बनाएर निर्माण गरिएको फिल्म प्रदर्शन हुन लागेको समयमा भारतीय राजदूतावास र मिलिटरी पेन्सन शाखाले बोलाएको थियो। फिल्मका निर्देशक तथा कथाकार माओत्से गुरुङले दूतावासले आफूहरूलाई भेटका लागि बोलाएको पुष्टि गरे।

उनले भने, "हाम्रो फिल्मको टिजर ट्रेलर भारतीय एम्बेसी लगायतले टिभीमा हेर्नुभएको रहेछ। ट्रेलर टिजर हेरिसकेपछि यो मुद्दा त हाम्रोमा नै धेरै भइरहेको हो। त्यस कारण एकदमै राम्रो खालको फिल्म र चेतनामूलक बनेको रहिछ। एकदमै राम्रो विषयवस्तु उठाइदिनु, हाम्रो समस्या पर्दामा ल्याइदिनुभयो भनेर उहाँहरूले हामीसँग भेट्न खोज्नुभएको रहेछ। हामीलाई उहाँहरूले भेट्न बोलाएपछि जे जति जना थियौं र भेट्यौं। राम्रो कुराकानी भयो।"

निर्देशक गुरुङका अनुसार कलाकारसहितको टोलीले दूतावास पुगेर छलफल गरेको थियो। भेटघाटका क्रममा दूतावासका अधिकारीहरूले टोलीलाई न्यानो स्वागत र आतिथ्य प्रदान गरेको उनले बताए। गुरुङले थपे, "कलाकार टिम सहित गएर हामीले भेट्यौँ। एकदमै राम्रो स्वागत र आतिथ्य राम्रो गर्नुभयो उहाँहरूले। त्यस्तो नराम्रो र नमिठो कुराकानी भएन।"

फिल्मको कथासँग प्रत्यक्ष जोडिएको पेन्सन पट्टा जारी हुने कार्यालयबाटै निर्माण टोलीलाई बोलावट भएपछि फिल्मको प्रदर्शन रोकिने वा सर्ने हो कि भन्ने आशंका उब्जिएको थियो। तर, गुरुङले त्यस्तो कुनै समस्या नरहेको स्पष्ट पारे। दूतावासका अधिकारीहरूले आवश्यक र यथार्थपरक विषयवस्तु उठाएको भन्दै सकारात्मक प्रतिक्रिया दिएको उनको भनाइ छ।

नेपालमा रहेका भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई पेन्सन वितरण गरिँदै आएको छ। पेन्सन पट्टा जारी गर्ने तथा त्यसमा भएका त्रुटि सच्याउने कामसमेत यही शाखाबाट हुने गर्दछ। उनका अनुसार मेजर राहुल झा तथा भारतीय दूतावास सम्बद्ध कर्मचारीहरूसँग कुराकानी भयो।

गुरुङले सोही भेटघाटका क्रममा आफूले नेपालमा भारतीय सेना तथा असैनिक (सिभिल) सेवाका गरी एक लाख १९ हजार ५०४ जना पेन्सन पाउँदै आएको थाहा पाएको बताए। भारत सरकारले नेपालमा रहेका पेन्सनभोगीलाई वार्षिक करिब सात हजार एक सय करोड नेपाली रुपैयाँ पेन्सनबापत पठाउने गरेको जानकारी आफूले पाएको गुरुङले सुनाए।
 
यता गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीका कारण धेरै फिल्महरूले प्रदर्शन तत्काललाई स्थगित गरिरहेका छन्। यसै फिल्म ‘पेन्सन पट्टा’सँग प्रदर्शनमा आउने भनिएको फिल्म ‘माया भनेको यस्तो होला’सरेको छ। दुखत् अवस्थामा फिल्मको प्रचार-प्रसार गर्न उचित नभएको भन्दै रेखा थापा निर्देशित फिल्म ‘माया भनेको यस्तो होला’ मंसिर ११मा सारेको हो। साथै गत शुक्रबारबाट प्रदर्शनमा आउने दुई फिल्म ‘ककाकिकी’ र ‘बा : एक योद्धा’को प्रदर्शनमा आएनन्।

तर निर्देशक गुरुङले आफ्नो बाध्यताका कारण फिल्मको प्रदर्शन सार्न नसकिएको बताए। जे जस्तो रिजल्ट आए पनि स्वीकार गर्दै अगाडी बढ्ने सुनाए। उनले भने, "अहिले देश नै विपतको समयमा फिल्म प्रदर्शन गर्ने मेरो मनसाय त होइन। अब यस्तो पहिलाबाट नै फिल्म प्रमोसनको समय खर्चिएको,प्रमोसनमा नै धेरै पैसा खर्च भइसकेको छ। यसलाई स्थगित गर्दाखेरि पनि भोलीका दिनमा आफ्ना धेरै कामहरू छन्। फिल्म प्रदर्शनका लागि उपयुक्त समय यो नभएता पनि गर्नुपर्ने बाध्यता छ।"

उनले आफ्नो फिल्म चलेको खण्डमा आफूले सक्दो आर्थिकरुपमा बाढी पहिरो पीडितलाई सहयोग गर्ने बताए। उनले भने, "भोली सिनेमा चलेको खण्डमा,केही राम्रो गरेको खण्डमा केही रकम राहत कोषमा जम्मा गर्ने खालको मेरो प्रतिबद्धता छ।" केन्द्रीय चलचित्र जाँच समितिले यस फिल्मलाई युनिभर्सल (यू) प्रमाणीकरण दिइसकेको छ। 

भदौ २२, २०८३ सोमबार २२:१०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।