बाढी पूर्वानुमान : रसुवा र नुवाकोटमा 'रेड अलर्ट', करिब ४० जिल्लामा मध्यम जोखिम
काठमाडौं : बाढी पूर्वानुमान महाशाखाले आइतबार रसुवा र नुवाकोट जिल्ला भएर बहने नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ। महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनअनुसार यी दुई जिल्लाका भोटेकोशी, त्रिशूली र अन्य स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी पश्चात् हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा कम रहे पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिएको महाशाखाले जनाएको छ।
त्यस्तै, देशका अन्य करिब ४० जिल्ला भएर बहने स-साना नदीहरूमा पनि बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने विवरणमा उल्लेख छ। मध्यम जोखिम रहेका जिल्लाहरूमा दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, गोरखा, कास्की, बागलुङ, सुर्खेत, कैलाली र कञ्चनपुरसहित अन्य पहाडी तथा हिमाली जिल्लाहरू रहेका छन्।
महाशाखाको तीन दिने पूर्वानुमानअनुसार भोलि (भदौ २२) र पर्सि (भदौ २३) पनि सातै प्रदेशका केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ। हाल कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली लगायतका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहे तापनि आगामी तीन दिनसम्म बहाव बढ्ने क्रममा रहने महाशाखाले जनायो।
नदी तटीय क्षेत्र तथा होचा भू-भागका बासिन्दालाई सतर्क रहन र मौसम सम्बन्धी अद्यावधिक सूचनाबारे जानकारी राख्न आग्रह गरिएको छ। रसुवा र नुवाकोटका जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन र सम्बन्धित निकायलाई प्रतिकार्यका लागि तयार रहन सूचित गरिएको छ।
भदौ २१, २०८३ आइतबार ०८:५२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।