काठमाडौं रेड्सको विजयी सुरुवात, सगरमाथा स्म्यासर्स अपराजित
काठमाडौं : त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी 'एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)'मा शनिबार भएका खेलमा काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्स विजयी भएका छन्।
काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै सुखद सुरुवात गर्दा सगरमाथाले खप्तड फाल्कन्समाथि ३-० को सोझो सेटमा सहज जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो सफलता हात पार्यो।
काठमाडौं रेड्सले मधेश वारियर्सलाई २०-२५, २६-२४, २५-१७, २२-२५ र १६-१४ को सेटमा पाखा लगायो। सुरुवाती सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गरेको काठमाडौंका लागि अहमद मुस्ताफा खान म्यान अफ द म्याच घोषित भए।
प्रतियोगितामा यो हारसँगै मधेश वारियर्सले लगातार दोस्रो पराजय भोगेको छ। यसअघि पहिलो खेलमा मधेश सगरमाथा स्म्यासर्ससँग ३-१ को सेटमा पराजित भएको थियो।
यस्तै, शनिबारै भएको दोस्रो खेलमा सगरमाथा स्म्यासर्सले आफ्नो अपराजित यात्रालाई निरन्तरता दियो। सगरमाथाले खप्तड फाल्कन्सलाई २५-१८, २५-१८ र २५-१९ को सोझो सेटमा स्तब्ध बनायो।
सगरमाथाको जितमा उत्कृष्ट प्रदर्शन गरेका आइमल खान लगातार दोस्रो पटक म्यान अफ द म्याच चुनिए। उनले मधेश विरुद्धको पहिलो खेलमा पनि सोही अवार्ड जितेका थिए।
प्रतियोगितामा आइतबार दुई खेल हुनेछ। पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले काठमाडौं रेड्सको सामना गर्ने छ। दोस्रो खेल कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच हुनेछ।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन्। सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन्। लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ। शीर्ष दुई र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।
नेपाल भलिबल लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ।
एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको फाइनल भदौ २८ गते हुनेछ। पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलो पटक भएको हो।
भदौ २१, २०८३ आइतबार ०७:५२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।