भोटेकोशी बाढीको ११ दिनपछि भेटिएकी चन्द्रिकाको सैनिक अस्पतालमा हुँदैछ उपचार

भोटेकोशी बाढीको ११ दिनपछि भेटिएकी चन्द्रिकाको सैनिक अस्पतालमा हुँदैछ उपचार

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन भएको ११ दिनपछि जीवितै उद्धार गरिएकी ६४ वर्षीया चन्द्रिका श्रेष्ठको यतिबेला काठमाडौंमा उपचार भइरहेको छ। 

नुवाकोटको बेत्रावतीबाट शनिबार उद्धार गरिएकी उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याई छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरियो। 

विदुर नगरपालिका- १० निवासी श्रेष्ठलाई बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरमा अचेत अवस्थामा फेला पारिएको थियो। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरे लगत्तै प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाएको थियो।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता नरेन्द्रबहादुर कार्कीका अनुसार अस्पतालमा चिकित्सकहरूको टोलीले उनको स्वास्थ्य परीक्षण गरिरहेको छ। "६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरी उपचारका लागि छाउनी अस्पताल ल्याएका छौं। उहाँको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले जाँच गरिरहनुभएको छ," उनले भने।

भोटेकोशीको विनाशकारी बाढीको ११ औँ दिनमा उनलाई सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोलीले अचेत अवस्थामा फेला पारेको थियो। 

लामो समयसम्म विना खानपान र प्रतिकूल अवस्थामा रहेका कारण उनको शारीरिक अवस्था कमजोर देखिएको छ। उनलाई अहिले अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ।

भदौ २०, २०८३ शनिबार १६:३६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।