झुक्क्याएर गलत सर्जिकल सामान दिएपछि मेडिकल सप्लायर्स उमेश अग्रवाल र बायोमेड कालो सूचीमा

झुक्क्याएर गलत सर्जिकल सामान दिएपछि मेडिकल सप्लायर्स उमेश अग्रवाल र बायोमेड कालो सूचीमा

काठमाडौं : मेडिकल सप्लायर्स उमेशकुमार अग्रवाल र उनको कम्पनी ‘श्री बायोमेड इन्टरनेश्नल प्रालि’लाई सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)ले कालो सूचीमा राखेको छ। 

काठमाडौँ बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा ‘प्रोजेक्ट (ठेक्का नम्बर)’ एसजीएनएचसी।आइसीबी।०८०।८१ (लट नम्बर बी)’ मा भएको मेडिकल र सर्जिकल सामग्रीको ठेक्का बदमासी गरेकाले अग्रवाल र उनको कम्पनीलाई भदौ १० (२०२६ अगस्ट २६) देखि २०८४ भदौ ११ (२०२७ अगस्ट २७)  सम्म एक वर्षका लागि पीपीएमओले कालो सूचीमा राखेको हो। 

पीपीएमओले बायोमेड र यो कम्पनीका मालिकलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) को खण्ड (ग) बमोजिम कालोसूचीमा राखिएको जनाएको छ। खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) मा बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई निजको कार्यको गाम्भीर्यको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले एकदेखि तीन वर्षसम्म कालोसूचीमा राख्न सक्ने प्रावधान छ।

खण्ड (ग) मा ‘खरिद सम्झौता कार्यान्वयन गर्दा सारभूत त्रुटि गरेको वा सम्झौता अनुरूपको दायित्व सारभूतरुपमा पालना नगरेको वा खरिद सम्झौता बमोजिमको कार्य सो सम्झौता बमोजिमको गुणस्तरको नभएको कुरा पछि प्रमाणित भएमा’ कालोसूचीमा राख्न सक्ने प्रावधान छ। ऐनमा भएको यही नियम अनुसार पीपीएमओले अग्रवाल र उनको कम्पनी ‘श्री बायोमेड इन्टरनेश्नल प्रालि’लाई एक वर्षका लागि कालोसूचीमा राखेको हो। खरिद सेटिङमा माहिर खेलाडी अग्रवाल बयोमेडका मालिक हुन्।

गंगालालले उनी र उनको कम्पनीलाई कारबाहीका लागि पीपीएमओमा सिफारिस गरेको थियो।

अग्रवालको कम्पनी बायोमेडले गङ्गालालसँग गरेको खरिद सम्झौता र स्पेसिफिकेसन अनुसारका सामग्री नल्याएपछि पटक पटक सम्झौता र स्पेसिफिकेसन अनुसारको सामग्री ल्याइदिन अनुरोध गरे पनि अग्रवालले नटेरेपछि कारबाहीका लागि पीपीएमओमा सिफारिस गरिएको गङ्गालालका कार्यकारी निर्देशक डा= आशिष गोविन्द अमात्यले जानकारी दिए। 

भदौ १८, २०८३ बिहीबार १५:२५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।