होर्मुज स्ट्रेटको नाम ‘ट्रम्प स्ट्रेट’ राख्न ट्रम्पको प्रस्ताव

होर्मुज स्ट्रेटको नाम ‘ट्रम्प स्ट्रेट’ राख्न ट्रम्पको प्रस्ताव

एजेन्सी : इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने होर्मुज स्ट्रेटलाई आफ्नो नामबाट नामाकरण गर्ने प्रस्ताव गरेका छन्।

उक्त जलक्षेत्रमा जहाजहरूमाथि दैनिकजसो इरानी आक्रमण भइरहे तापनि यो क्षेत्र अमेरिकाको नियन्त्रणमा रहेको दाबी गर्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन्।

बुधबार ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, "अब यो अमेरिकाको नियन्त्रणमा आइसकेकाले के हामीले स्ट्रेट अफ होर्मुजको नाम परिवर्तन गरेर 'ट्रम्प स्ट्रेट' राख्ने त? स्वयं अमेरिका जस्तै यो पनि पहिलेभन्दा धेरै 'हट' हुनेछ!"

ट्रम्पको यो भनाइ अमेरिकाले दक्षिण इरानको सिरिक सहरमा गरेका आक्रमणहरूको २४ घण्टाभन्दा कम समयभित्र आएको हो। इरानका अनुसार उक्त अमेरिकी आक्रमणमा एउटा विवाह समारोहमा सहभागी कम्तीमा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको थियो।

इरानको जवाफ र कच्चा तेलको मूल्यमा वृद्धि
अमेरिकी आक्रमणको जवाफमा इरानले उक्त क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ। मङ्गलबारको अमेरिकी आक्रमणपछि ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै यदि जवाफी कारबाही गरेमा 'झन् कडा र उच्च स्तरको प्रहार' भोग्नुपर्ने बताएका थिए। तर, त्यसको केही घण्टाभित्रै इरानी सेनाले बहराइन, जोर्डन र इराकमा रहेका अमेरिकी आधार शिविरहरूमा क्षेप्यास्त्र तथा ड्रोन प्रहार गर्यो।

यस सैन्य भिडन्तका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ४ प्रतिशतले बढेको छ। अमेरिकी अधिकारीहरूले स्ट्रेट अफ होर्मुज अहिले खुला रहेको र दैनिक लाखौँ ब्यारेल तेल आवतजावत भइरहेको दाबी गरे पनि हालैका साताहरूमा तेलको मूल्य घट्न सकेको छैन। अर्कोतर्फ, इरानले भने यो जलमार्ग पूर्ण रूपमा बन्द रहेको र आफ्नै नियन्त्रणमा रहेको दाबी दोहोर्याउँदै आएको छ।

होर्मुज स्ट्रेटमा तेल ट्यांकरमाथि आक्रमण र अमेरिकी इन्धनको मूल्य वृद्धि
बुधबार साउदी अरबले  आफ्नो तेल ट्यांकरलाई लक्षित गरी एउटा तेल ट्याङ्करमा आक्रमण गरेको इरानमाथिआरोप लगाएको छ। यस आक्रमणमा दुई जनाको मृत्यु भएको जानकारी दिएको छ। 

ब्रिटिश रोयल नेभीसँग सम्बद्ध अनुगमन निकाय 'यूके म्यारिटाइम ट्रेड अपरेसन' ले पनि होर्मुज क्षेत्रमा दिनहुँजसो व्यापारिक जहाजहरूमाथि आक्रमण भइरहेको जनाएको छ।

अमेरिकाभित्र पनि यस युद्धको असर देखिन थालेको छ। अमेरिकन अटोमोबाइल एसोसिएसनका अनुसार फेब्रुअरी २८ मा युद्ध सुरु हुनुअघि प्रति ग्यालन (३.८ लिटर) ३ डलरभन्दा कम रहेको पेट्रोलको मूल्य बुधबार बढेर ४.१२ डलर पुगेको छ।

ट्रम्पको रणनीतिक कदम र आलोचना
'ट्रम्प स्ट्रेट' को प्रस्तावलाई विश्लेषकहरूले यो द्वन्द्वमा आफ्नो पूर्ण नियन्त्रण देखाउने अमेरिकी राष्ट्रपतिको नयाँ प्रयासका रूपमा लिएका छन्। यद्यपि, आलोचकहरूले भने यो युद्धलाई रणनीतिक गल्ती र अमेरिकाका लागि दलदल बन्दै गएको टिप्पणी गरेका छन्।

ट्रम्पले विगतमा पनि यस्ता विवादास्पद कदम चाल्दै आएका छन्। गत महिना उनले स्ट्रेट अफ होर्मुजलाई 'अमेरिकी भूभाग' को संज्ञा दिएका थिए। त्यसै गरी, गत साता क्यानाडासँग जारी व्यापारिक विवादका बीच उनले अमेरिका र क्यानाडाको सीमामा रहेको 'लेक ओन्टारियो' को नाम एकतर्फी रूपमा बदलेर 'लेक अमेरिका' राखेका थिए।

भदौ १८, २०८३ बिहीबार १२:३०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।