बाढी प्रभावितको राहतका लागि ३६ घण्टामै जुट्यो एक अर्ब ९१ करोड
काठमाडौं : भोटेकोशीमा बुधवार आएको विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि ३६ घण्टाभित्र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ।
बुधबार मध्याह्नदेखि बिहीबार रातिसम्म संकलित यो सहयोग रकम संस्थागत र व्यक्तिगत दाताहरूले बैंक खाता र अर्थ मन्त्रालयमार्फत उपलब्ध गराएका हुन्। तर, यसमा वैदेशिक सहायता भने समावेश छैन। अर्थ मन्त्रालयका अनुसार वाणिज्य बैंकहरुमा रहेको विभिन्न १० खातामा एक अर्ब ९१ करोड ८६ लाख ३६ घण्टा अवधिमा जम्मा भयो।
बुधबार बिहान नेपाल-चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन सुरु भएको थियो।
सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयको रूपमा तोकेको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा माथिको सहयोग गर्ने दाताहरूको रकम आफैँमार्फत स्वीकार गर्ने गरेका छन्।
यस्तै, व्यक्तिगततर्फको नगद सहयोग रकम दाताहरूले मन्त्रालयमै आएर प्रदान गर्न सक्ने छन्। यससँगै कोषमा बचत रकम चार अर्ब नौ करोड ११ लाख पुगेको छ। यसअघि कोषमा दुई अर्ब १७ करोड २५ लाख बचत थियो। बिहीबार ६ घण्टा अवधिमा नेपालका निजी क्षेत्रका दाताहरूबाट मन्त्रालय मार्फत २७ करोड ३३ लाख सहयोग प्राप्त भएको थियो।
भदौ १२, २०८३ शुक्रबार १६:३३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।