भोटेकोशी बाढी : १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४८९ शव फेला, उद्धार र खोजी तीव्र

भोटेकोशी बाढी : १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४८९ शव फेला, उद्धार र खोजी तीव्र

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा गत बुधवार आएको विनाशकारी बाढीपछिको उद्धार, राहत र खोजी कार्यलाई तीव्र बनाउन प्रभावित क्षेत्रमा हालसम्म १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। 

परिचालित सुरक्षाकर्मीहरूमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरीका १ हजार ८४५ जना रहेका छन्। सरकारले विभिन्न स्थानमा फसेका ३ हजार २५३ जनाको सकुशल उद्धार गरेको छ। उद्धार कार्यका लागि नेपाली सेनाका ६ र निजी ९ वटा गरी कुल १५ वटा हेलिकोप्टर प्रयोग भइरहेका छन् भने प्रभावित क्षेत्रमा १० ट्रकभन्दा बढी राहत सामग्री पठाइएको छ।

शव संकलन र सेनाको विशेष परिचालन

बेपत्ताहरूको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको गुनासो आएपछि नेपाली सेनाले आफ्नो अपरेसन थप तीव्र बनाएको छ। रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा थप १ हजार २ सय सैनिक जनशक्ति परिचालन गरिएको छ। यससँगै प्रभावित क्षेत्रमा खटिने नेपाली सेनाको कुल संख्या २ हजार ८ सय पुगेको छ।

मध्याह्न १२ बजेसम्मको तथ्याङ्क अनुसार बाढीमा परेर बेपत्ता भएकामध्ये विभिन्न आठ जिल्लामा गरी कुल ४८९ वटा शव भेटिएको छ।

चितवनमा १८६, नवलपरासी पूर्वमा १ सय १२, गोरखामा  ४४, धादिङमा ४०, नुवाकोटमा ३७,नवलपरासी पश्चिममा २८, तनहुँमा २८ र रसुवामा १३ जनाको शव फेला परेको छ। शव भेटिएका जिल्लाहरूमै व्यवस्थापन गरिएको छ भने चितवनमा शुक्रवारदेखि शवको पहिचानको काम सुरु गरिँदैछ।

विदेशी नागरिकसहित ६६७ बेपत्ता

नेपाल पर्यटन बोर्डका अनुसार भोटेकोशी र त्रिशूली नदीको बाढीका कारण प्रभावित क्षेत्रमा यात्रा गरिरहेका १ सय २७ नेपालीसहित ६ सय ६७ जना पर्यटक तथा पदयात्रु बेपत्ता छन्। प्रभावित क्षेत्रबाट हालसम्म ३१ विदेशी नागरिकको उद्धार गरिएको छ। उद्धार हुनेमा भारत, दक्षिण कोरिया, अमेरिका, रुस, इटाली, बुल्गेरिया र स्विट्जरल्यान्डका नागरिकसहित राष्ट्रियता नखुलेका १८ जना छन्।

बाढीको जोखिम र सतर्कताको अपिल

माथिल्लो क्षेत्रमा पानीको बहाव बढे पनि तत्काल ड्याम फुटेको अवस्था नरहेको सरकारले स्पष्ट पारेको छ। मन्त्री पोखरेलका अनुसार चिनियाँ पक्षसँग परराष्ट्र मन्त्रालयमार्फत भइरहेको संवादमा ग्लेसियर फुटेर र पानी ओभरफ्लो भएका कारण लेदोसहितको पानी तल आएको जानकारी प्राप्त भएको छ।

बाढी पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा (मुग्लिङसम्म) लेदोसहितको बहाव बढेकोले नदी किनारका बासिन्दा, सुरक्षाकर्मी र स्वयंसेवकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

भदौ १२, २०८३ शुक्रबार १४:५५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।