अनधिकृत रूपमा रकम नउठाउन चेतावनी, बाढीपीडितका लागि सरकारी कोषको खातामा सहयोग पठाउन अपिल
काठमाडौं : बाढीपीडितका नाममा अनधिकृत रूपमा रकम सङ्कलन गर्न थालिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कारबाही गर्ने चेतावनी दिएको छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति, समूह तथा संस्थाहरूले आफूखुसी रकम सङ्कलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरेर त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गर्यो।
कतिपय व्यक्ति, समूह तथा संस्थाले अनधिकृत ‘क्युआर कोड’ र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम सङ्कलन गरिरहेका जानकारी प्राप्त भएको र त्यसप्रति प्रधानमन्त्रीको कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेका आधिकारिक खाता र क्युआर कोडमा मात्र आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।”
आर्थिक सहयोगका लागि सरकारका तर्फबाट आधिकारिक रूपमा सञ्चालनमा रहेका दुई मुख्य कोष र तिनका खातामा मात्र सहयोग रकम दाखिला गर्न उक्त कार्यालयले अनुरोध गर्यो।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत हिमालयन बैंक लिमिटेड (डलर खाता) ०१९०५६३१२१००४६, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ०१०१३२४३८०१, ०२०१३२४३८०१, राष्ट्रिय वाणिज्य बैंक ११३०१००००३७६२००१, ११३०१०००००००६०६, एभरेष्ट बैंक लिमिटेड ००१००१०५२००२७०, ००१०११०२२०००१२, नेपाल बैंक लिमिटेड ००२११६००५१००३९०००००३, ००२००१००५१००३९०००००१, ग्लोबल आइएमई बैंक लिमिटेड ००४०१०१०००००५७, ००४११०१००००००५, नबिल बैंक लिमिटेड १७१००१७५०५२८५ र कृषि विकास बैंक लिमिटेड ०१००२०१००२९०७०१४ मा सहयोग जम्मा गर्न सकिन्छ।
साथै प्रधानमन्त्री राहत कोषको राष्ट्रिय वाणिज्य कोषमा रहेको खाता नम्बर १४३०१००००००२५००६ र १४३०१००००११६४००१ रहेका छन्।
भदौ १२, २०८३ शुक्रबार १४:४२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।