बाढीपीडितका लागि पुनःस्थापना प्याकेज बनाउने सरकारको निर्णय
काठमाडौं : बाढीपीडित तथा प्रभावित क्षेत्रका लागि लक्षित गरी सहुलियत र पुनःस्थापना प्याकेज तयार गर्न मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पुनःस्थापना प्याकेजको लागि निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
“गत बुधबार नेपाल चीन सीमा रसुवागढी एवम् भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ”, बैठकको निर्णयमा भनिएको छ।
त्यस्तै, सरकारले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको सहयोगका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
पोखरेलले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री तथा सबै मन्त्रीको एक महिनाको पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म १० ट्रकभन्दा बढी राहत सामग्री पठाइसकिएको छ। राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउँदै प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने सरकारको तयारी छ।
भारतसँग जिटुजी खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको प्रवक्ता पोखरेलले बताए।
भदौ १२, २०८३ शुक्रबार १४:१५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।