तिब्बतमा ताल फुटेको छैन, ओभरफ्लो मात्रै भएको हो : सरकारका प्रवक्ता

तिब्बतमा ताल फुटेको छैन, ओभरफ्लो मात्रै भएको हो : सरकारका प्रवक्ता

काठमाडौं : सरकारले चीनको तिब्बतमा बनेको कृत्रिम ताल नफुटेको स्पष्ट पारेको छ। स-साना ग्ल्यासियरहरू फुटेर लेदोसहितको पानी ‘ओभरफ्लो’ हुँदा भोटेकोशीमा बाढी आएको र तत्काल ठूलो जोखिम नरहेको सरकारले जनाएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले यस्तो जानकारी गराएका हुन्। भोटेकोशी बाढीका सम्बन्धमा परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको उनले बताए।

‘चिनियाँ पक्षसँग भइरहेको संवादमा तत्काल त्यस्तो ठूलो जोखिम नरहेको सन्देश प्राप्त भएको छ,’ प्रवक्ता पोखरेलले भने, ‘कतै ताल नै फुटिसकेको भन्ने होइन। चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको तालबाट स-साना ग्ल्यासियरहरू फुटेको हुनाले पानी लेदोसहित ओभरफ्लो भएको हो। अहिले ठूलो जोखिम नभए पनि सतर्क रहन भने आवश्यक छ।’

यसअघि शुक्रबार नै रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चिनियाँ पक्षबाट ताल फुटेको सूचना आएको भन्दै तटीय क्षेत्रमा ‘अलर्ट’ जारी गरेका थिए।

सोही सूचनाका आधारमा सुरक्षाकर्मीहरूले नदी आसपासमा रहेका मानिसहरूलाई सुरक्षित स्थानतर्फ सारिरहेका छन्। तर, सरकारका प्रवक्ताले ताल नै फुटेको नभई ओभरफ्लो मात्र भएको स्पष्ट पार्दै सर्वसाधारणलाई नआत्तिन तर उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।

यसैबीच, शुक्रबारकै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने निर्णय गरेको छ।

भदौ १० गते नेपाल-चीन सिमानास्थित ल्हेन्दे खोला र भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिलाई मध्यनजर गर्दै राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले आफ्नो एक महिनाको तलब कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए।

भदौ १२, २०८३ शुक्रबार १३:५८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।