सरकारी प्रतिवेदन भन्छ- ८:५० मा स्याफ्रुबेंसी र ९:३० मा बेत्रावती जलमापन केन्द्रसँग सम्पर्क टुट्यो

सरकारी प्रतिवेदन भन्छ- ८:५० मा स्याफ्रुबेंसी र ९:३० मा बेत्रावती जलमापन केन्द्रसँग सम्पर्क टुट्यो

काठमाडौं : भदौ १० गते रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीले त्रिशूली हुँदै नारायणी नदीसम्म ठूलो प्रभाव पार्यो।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले यस घटनाको सुक्ष्म विश्लेषण गर्दै प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रतिवेदनअनुसार, सही समयमा गरिएको पूर्वसूचना प्रणाली र एसएमएस एलर्टका कारण हजारौं नागरिकलाई सुरक्षित स्थानमा सार्न र ठूलो मानवीय क्षति रोक्न सम्भव भएको दाबी गरिएको छ।

यसरी सुरु भयो बाढीको शृङ्खला
भदौ १० गते बिहान ८:३७ बजे खानी तथा भूगर्भ विभागले ४.४ म्याग्निच्युडको भूकम्प मापन गरेको थियो।

त्यसको केही समयपछि, ८:५० बजे भोटेकोशीको स्याफ्रुबेंसी जलमापन केन्द्रसँगको सम्पर्क विच्छेद भयो। त्यहाँको अन्तिम जलसतह १.६२ मिटर रेकर्ड गरिएको थियो, जबकी त्यहाँको चेतावनी तह ६ मिटर र खतरा तह ७ मिटर हो।

बिहान ९:०५ बजे जिल्ला प्रशासन कार्यालय रसुवा र बेत्रावती जलमापन केन्द्रका कर्मचारीमार्फत तिब्बततर्फबाट ठूलो बाढी आएको सूचना महाशाखालाई प्राप्त भयो।

बाढीको सूचना प्राप्त हुनासाथ बिहान ९:१५ बजेदेखि महाशाखाले भोटेकोशी, त्रिशूली र नारायणीको तटीय क्षेत्र (रसुवा, नुवाकोट, धादिङ र चितवन) का बासिन्दालाई सतर्क गराउन सुरु गर्यो।

बिहान ९:१६ बजे नेपाल टेलिकम र एनसेलको नेटवर्कमार्फत प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गर्दै ६ लाख ७९ हजार २९५ वटा सन्देश पठाइएको थियो।

जसमा एनटिसीबाट ४ लाख ३५ हजार ६३५ र एनसेलबाट २ लाख ४३ हजार ६६० एसएमएस प्रवाह गरिएको थियो। यसका साथै, फेसबुक लाइभ, मिडिया अन्तर्वार्ता र सामाजिक सञ्जालमार्फत पनि निरन्तर अपडेट दिइएको थियो।

बाढीको यात्रा र जलसतहको अवस्था
महाशाखाले बाढीको बहावलाई निरन्तर ट्र्याक गरेको थियो।
९:२० बजे: बेत्रावती जलमापन केन्द्रको डाटा आउन बन्द भयो (अन्तिम रेकर्ड: ३.५५ मिटर)।
१०:२८ बजे: बाढी धादिङ-गल्छी आसपास पुग्यो।
११:२६ बजे: फुर्के (मलेखु) केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो र ११ बजेर ४३ मिनेटमा खतरा तह नाघ्यो। त्यसलगत्तै त्यहाँको पुलसहित जलमापन केन्द्र नै बाढीले बगायो।
२:१४ बजे: त्रिशूलीको कालीखोला जलमापन केन्द्रमा बाढी खतरा तह (१२.१ मिटर) पार गर्दै १२.३ मिटर पुग्यो।
३:२० बजे: बाढी नारायणी-देवघाट क्षेत्रमा पुग्यो। दिउँसो ४ बजे देवघाटमा जलसतह उच्च बिन्दु (६.५७ मिटर) मा पुगेर घट्न सुरु भयो।

देवघाटमा ५,८५० क्युसेक बहाव
प्रतिवेदनअनुसार देवघाट जलमापन केन्द्रमा दिउँसो ४ बजे पानीको बहाव ५ हजार ८५० घनमिटर प्रतिसेकेन्ड पुगेको थियो।

दिउँसो २ बजेर १० मिनेटदेखि साँझ ६ बजेसम्मको अवधिमा बेस फ्लो (२,६०० m³/s) बाहेक करिब १९.९६ मिलियन घनमिटर अतिरिक्त बाढीजन्य पानी देवघाटबाट पार भएको आकलन गरिएको छ।

अझै टरेको छैन जोखिम
महाशाखाका अनुसार, तिब्बततर्फ नदी थुनिएर बनेको ताल पूर्णरूपमा नखुलेको सूचना प्राप्त भएकाले माथिल्लो भोटेकोशी क्षेत्रमा थप पानीको बहाव उत्पन्न हुन सक्ने जोखिम कायमै छ।

यसका साथै, तल्लो तटीय क्षेत्रमा तत्कालका लागि ठूलो डुबानको सम्भावना कम देखिए पनि नदी किनारका तल्लो भूभागमा पानी पस्न सक्ने र वर्षात्को सिजन कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाको सुझाव
विपद् व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन महाशाखाले निम्न सिफारिसहरू गरेको छ:
- भोटेकोशी, त्रिशूली र नारायणीका प्रमुख जलमापन केन्द्रहरूमा निरन्तर रियल-टाइम अनुगमन गर्ने।
- चीनतर्फ नदी थुनिएको र तालको अवस्थाबारे सूचना अद्यावधिक गरिरहने।
- नदी किनारका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म सुरक्षित र उच्च स्थानमै रहन अपिल गर्ने।
- घटनाको कारण र प्रभावको अध्ययन जारी राखी भविष्यका लागि पूर्वसूचना प्रणालीलाई थप प्राविधिक र चुस्त बनाउने।

भदौ १२, २०८३ शुक्रबार १२:२६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।