हाइड्रोको सुरुङभित्र फसेका २ जनाको नेपाली सेनाद्वारा उद्धार, खोजी कार्य जारी
रसुवा : रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनाले खोजी कार्य तीव्र पारेको छ।
आज बिहानैदेखि सुरु गरिएको अत्यन्तै जोखिमपूर्ण उद्धार कार्यअन्तर्गत हालसम्म दुई जनाको सकुशल उद्धार गरिएको छ।
जटिल भूगोल र बाढीपछिको प्रतिकूल अवस्थाका बाबजुद सेनाको टोली सुरुङभित्र प्रवेश गर्न सफल भएको हो।
यद्यपि, बाढी पसेपछि सुरुङभित्र अझै कति मानिस फसेका छन् भन्ने यकिन तथ्यांक भने प्राप्त भइसकेको छैन। फसेका अन्य व्यक्तिहरूको अवस्था पत्ता लगाउन र उनीहरूलाई बाहिर निकाल्न सेनाले हरसम्भव प्रयास गरिरहेको छ।
टनेलभित्र हिलो, लेदो र पानी जमेका कारण उद्धार कार्य निकै अप्ठ्यारो र चुनौतीपूर्ण बनेको छ।
यस्तो कठिन परिस्थितिमा पनि सेनाले विशेष तालिमप्राप्त उद्धार टोलीका साथै आवश्यक प्राविधिक उपकरणहरूको प्रयोग गरिरहेको छ।
सुरुङभित्र फसेका अन्य सबैको जीवितै उद्धार गर्न सेनाको टोली निरन्तर खटिरहेको छ। घटनाको विस्तृत विवरण र सुरुङभित्र रहेका कामदारहरूको यकिन सङ्ख्या आउन बाँकी छ।
भदौ १२, २०८३ शुक्रबार १०:४६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।