यी हुन् रसुवाबाट उद्धार गरिएका ५७० जना (सूचीसहित)

यी हुन् रसुवाबाट उद्धार गरिएका ५७० जना (सूचीसहित)

रसुवा : रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोशी नदीको बाढीले रसुवा जिल्लामा जनधनको ठूलो क्षति पुर्याएको छ। विपद् व्यवस्थापन र उद्धार कार्यलाई तीव्रता दिँदै जिल्ला प्रशासन कार्यालय रसुवाले भदौ १० र ११ गतेसम्म ५७० जनाको सफल उद्धार गरिएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय, रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ध्रुवप्रसाद अधिकारीले जारी गरेको सूचनाअनुसार, भदौ १० गते बिहान ८:४० बजे भोटेकोशीमा आएको भीषण बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो प्रभाव पारेको छ।

विपद् लगत्तै नेपाल सरकार, गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको निर्देशनबमोजिम स्थानीय प्रशासनले पूर्ण क्षमतामा उद्धार कार्य अघि बढाएको छ।

उद्धारका लागि नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरहरू परिचालन गरिएका छन्। बाढी प्रभावित स्याफ्रुबेंसी, टिमुरे, धुन्चे, मैलुङ, गोसाइँकुण्ड र नौकुण्ड लगायतका क्षेत्रबाट जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।

उद्धार गरिएकाहरूमा स्थानीय बासिन्दा, जलविद्युत आयोजनाका मजदुर, भारतीय नागरिक, चीन, अमेरिका, टर्की, इटाली  लगायतका विदेशी पर्यटकहरूसमेत रहेका छन्।

बाढीका कारण प्रभावित क्षेत्रका सडक, विद्युत् सेवा, नेपाल टेलिकमका टावरहरूसहितका अत्यावश्यक पूर्वाधारहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सञ्चार र यातायात सम्पर्क टुटेकाले उद्धार अपेक्षाअनुरूपको गति लिन कठिन भइरहेको प्रशासनले जनाएको छ।

‘स्थलमार्ग र पूर्वाधारमा भएको क्षतिका कारण विपद् प्रतिकार्य अपेक्षित रूपमा सहज हुन सकेको छैन। धैर्यता, वस्तुगत आकलन र सामूहिक प्रयत्नबाट मात्रै यो विपद्को प्रभावकारी व्यवस्थापन सम्भव छ’, सहायक प्रजिअ अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रशासनले यो कठिन समयमा धैर्यता कायम राखी विपद् व्यवस्थापनमा खटिएका सबै निकायलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न सर्वसाधारणमा अपिल गरेको छ।

हाल उद्धार गरिएका नागरिकहरूलाई सुरक्षित आश्रयस्थलमा राखिएको छ भने घाइतेहरूको स्थानीय अस्पताल तथा आवश्यकताअनुसार काठमाडौं रिफर गरी उपचार भइरहेको छ। बेपत्ता भएकाहरूको खोजी कार्य र थप उद्धारका लागि सुरक्षाकर्मीहरूको टोली निरन्तर खटिइरहेको प्रशासनले जनाएको छ।

भदौ १२, २०८३ शुक्रबार ०९:५५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।