संघीय सरकारसँगै आफ्नै पार्टीप्रति पनि उत्तरगयाका अध्यक्षको आक्रोश- सामाजिक सञ्जाल रङ्ग्याउने काम मात्र नगरौँ
रसुवा : चीनको तिब्बतबाट विना वर्षात अकस्मात आएको भीषण बाढीले रसुवा र नुवाकोट अकल्पनीय मानवीय क्षति पुर्याएको छ। सयौँ स्थानीय, जलविद्युत आयोजनाका मजदुर र तीर्थयात्री बेपत्ता छन्।
तर, रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले भने संघीय सरकारबाट उद्धार र राहतमा चरम बेवास्ता भएको भन्दै आक्रोश पोखेका छन्।
अध्यक्ष अर्यालले सामाजिक सञ्जालमार्फत सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको र सञ्चार सम्पर्क टुटेको यस क्षेत्रमा मरणासन्न घाइतेहरूको उद्धारका लागि हेलिकप्टर माग्दा पनि केन्द्र सरकारबाट कुनै सुनुवाइ नभएको बताएका हुन्।
‘हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा र सामाजिक सञ्जालमा मात्र देखिन्छ, विपद्को बेला भुइँमा जनताले सरकार भएको अनुभूति गर्न पाएका छैनन्,’ अध्यक्ष अर्यालले दुःख व्यक्त गर्दै भने, ‘उल्टै गृहमन्त्रीको सचिवालयबाट फोन गरेर नकारात्मक प्रचार नगरिदिनु, राजनीति नगर्नु भन्ने दबाब आयो।’
सयौँ बेपत्ता, सुरुङभित्रै फसे मजदुर
बाढीको पूर्वसूचना दिन खटिएका गाउँपालिकाका ४ जना कर्मचारी, कार्यपालिका सदस्य ज्ञानु विक र केही शिक्षकहरूसँग अझै सम्पर्क हुन सकेको छैन। सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको भने शव फेला परेपछि दाहसंस्कार गरिएको छ।
बेत्रावती बजार, कैदलेटार, पैरेबेंसी, सल्लेटार र मैलुङ क्षेत्रमा भूकम्पपछि ११ वर्षदेखि अस्थायी शिविरमा बस्दै आएका करिब ३०० घरपरिवारको अवस्था अज्ञात छ।
त्यसैगरी, माथिल्लो त्रिशूली-१ र त्रिशूली थ्री बी जलविद्युत आयोजनामा कार्यरत कोरियन, चिनियाँ, भारतीय र नेपाली गरी ठूलो सङ्ख्याका मजदुरहरू हराइरहेका छन्। कतिपय मजदुर सुरुङभित्रै फसेको खबर छ। यसका साथै गोसाइँकुण्ड र मानसरोवर हिँडेका थुप्रै तीर्थयात्रीहरू पनि बाढीमा बेपत्ता भएका छन्।
नदी किनारमा सड्दैछन् शव
बाढीले बगाएर ल्याएका ५० शव त्रिशूली नदी किनारमा बेवारिसे अवस्थामा छन्। शव सढेर गाउँ नै दुर्गन्धित हुन थालेको र यसबाट महामारी फैलन सक्ने उच्च जोखिम रहेको अध्यक्ष अर्यालले बताए।
‘परिवारका सदस्यहरूले पहिचान गरिसकेका शवको दाहसंस्कार गर्न खोज्दा पनि फिल्डमा खटिएका प्रहरीले केही गर्न मिल्दैन भन्दै रोकिरहेका छन्,’ उनले भने।
बाढीमा परी ठूलो सङ्ख्यामा सुरक्षाकर्मीसमेत बेपत्ता भएको र बाँकी रहेका सीमित प्रहरीहरू खाना र पानीविना नै ड्युटीमा खटिन बाध्य भएको उनले जानकारी दिए।
यसका अलावा उनले आफू संलग्न पार्टी एमालेको तेतृत्वमाथि पनि आक्रोश पोखेका छन्।
उनले लेखेका छन्, ‘सार्वजनिक सञ्जालमा देखे नेकपा एमालेको आकस्मिक सचिवालय बैठक भनेर। परिणाम विहीन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं। यसले पिडितलाई थप पीडा दिनेछ। के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं। यी विषयहरू मैले उठाउनै पर्ने भएर मैले आफ्नो धारणा राखेको यसलाई धेरै नकारात्मक भएछ भनेर नबुझिदिनुहोला।’
विद्यालयको भुइँमा ३५० जनाको बास
हाल उद्धार गरिएका करिब ३५० जना बाढी प्रभावितलाई नीलकण्ठ मावि बोगटीटारमा राखिएको छ। उनीहरू विद्यालयको चिसो भुइँमा म्याट्रेस ओछ्याएर रात कटाउन बाध्य छन्।
छिमेकी कालिका र नौकुण्ड गाउँपालिकाले उपलब्ध गराएको खाद्यान्नले अबको तीन दिनसम्म मात्र धान्ने अवस्था छ।
सुत्केरी, गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र नियमित औषधि सेवन गर्नुपर्ने बिरामीहरूको अवस्था निकै कष्टकर बने पनि स्रोतसाधनको अभावमा गाउँपालिकाले विशेष हेरचाह गर्न सकेको छैन।
तत्काल उद्धारको अपिल
तिरु क्षेत्रमा पहिरोको उच्च जोखिममा रहेका स्थानीय तथा नदी वारिपारि फसेका नागरिकको तत्काल उद्धार गर्नुपर्ने आवश्यकता छ। बिरामीको सङ्ख्या बढ्दै गएकाले तत्काल स्वास्थ्य शिविर र ओखतीमुलोको व्यवस्था मिलाउन गाउँपालिकाले सहयोगी संस्थाहरूलाई अपिल गरेको छ।
बुधबार साँझ मात्र प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क भएको र आजदेखि उद्धार तथा राहतको काम सुरु हुने आश्वासन पाएको अध्यक्ष अर्यालले बताए।
उनले भने, ‘अब भने राज्यको नजरमा ओझेल परेका यी क्षेत्रमा काम सुरु हुने र घरबारविहीन जनताले राज्य भएको अनुभूति गर्न पाउने विश्वास लिएको छु।’
भदौ १२, २०८३ शुक्रबार ०८:२९:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।