चार जिल्लामा भेटिएका १०२ शव परीक्षणका लागि पोखरामा

चार जिल्लामा भेटिएका १०२ शव परीक्षणका लागि पोखरामा

कास्की : भोटेकोशीको बाढीले बगाएर त्रिशूली र नारायणी नदी किनारमा पुर्याएका १०२ वटा शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ।

बाढीमा परेकाहरूको खोजी गर्ने क्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीका विभिन्न स्थानमा यी शव फेला पारेका थिए।

ती जिल्लाहरूमा एकैपटक यति धेरै शवको पोस्टमार्टम र व्यवस्थापन गर्ने क्षमता नभएपछि पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए।

बरालका अनुसार बिहीबार राति पूर्वी नवलपरासीबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ गरी जम्मा १०२ वटा शव पोखरा ल्याइएको हो।

हाल यी शवहरूको व्यवस्थापन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा भइरहेको छ। प्रतिष्ठानमा परीक्षण गरिएकामध्ये तनहुँमा भेटिएका ९ वटा शवलाई भने थप व्यवस्थापनका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको छ।

पोखराका सरकारी तथा निजी अस्पतालहरूको कुल शवगृह क्षमता ८८ वटा मात्र रहेको छ। तर, क्षमताभन्दा बढी शव एकैपटक आइपुगेपछि अस्पतालहरूलाई शव व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ।

स्थानीय प्रशासनले शवहरूको पोस्टमार्टम सकिएलगत्तै पहिचानका लागि विस्तृत विवरणसहितको सार्वजनिक सूचना जारी गर्ने तयारी गरिरहेको छ।

भदौ १२, २०८३ शुक्रबार ०७:४७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।