भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या ३८९ पुग्यो, ९७७ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या ३८९ पुग्यो, ९७७ अझै सम्पर्कविहीन

काठमाडौं : नेपाल-चीन सीमास्थित ल्हेन्दे खोलामा हिमपहिरो खसेर थुनिएपछि आएको भोटेकोशी र त्रिशूली नदीको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ३८९ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ ११ गते राति १० बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै बाढीमा ९७७ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ।

सम्पर्कविहीन हुनेहरूमा ५१७ जना विदेशी नागरिक र १२७ जना विदेशमै बस्ने नेपाली नागरिकसमेत रहेका छन्। बेपत्ताहरूको खोजीका लागि ‘सेतु’ एपमार्फत ट्र्याकिङ भइरहेको छ।

बाढीमा परी हालसम्म १३० जना घाइते भएका छन्। जसमध्ये ६७ जनाको काठमाडौँको टिचिङ, वीर अस्पताल, ट्रमा सेन्टरलगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ४८ जना उपचारपछि घर फर्किएका छन्।

प्राधिकरणका अनुसार भदौ १० गते ल्हेन्दे खोलाको उत्तरी क्षेत्रमा करिब १ वर्ग किलोमिटरको हिमचट्टान खसेको थियो। उक्त हिमपहिरो खस्दा ५.२ म्याग्निच्युड बराबरको भूकम्पीय धक्का उत्पन्न भएको थियो। सोही कारण खोला थुनिएर ठूलो बाढी आउँदा भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा व्यापक क्षति पुगेको हो।

उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी र १५ हेलिकप्टर
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाल प्रहरीका ७,२५०, नेपाली सेनाका ४,२०० र सशस्त्र प्रहरी बलका १,८४५ जना खटिएका छन्।

सडक सञ्जाल टुटेका कारण हवाइ उद्धारलाई तीव्रता दिइएको छ। नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ वटा हेलिकप्टरमार्फत १ हजार ९७६ जनाको सफल उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

खोज, उद्धार, स्वास्थ्य सेवा र राहत वितरणलाई प्रभावकारी बनाउन १२ वटा विषयगत आपत्कालीन समन्वय टोलीहरू गठन गरी परिचालन गरिएको छ।

सडक खुलाउने प्रयास जारी
नेपाल सरकारले तत्काल राहतका लागि प्रभावित जिल्लाहरूमा २ करोड ५० लाख रुपैयाँ पठाएको छ। जसअन्तर्गत रसुवा र नुवाकोटलाई १-१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ। यसका साथै काठमाडौंबाट पाल, ब्ल्याङ्केट, खाद्यान्नलगायतका राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ।

अवरुद्ध यातायात सुचारु गर्न सडक खण्डहरूमा गेग्रान पन्छाउने कार्य जारी छ। देवीघाटको सडक अवरोध हटिसकेको छ भने गल्छी-विदुर-त्रिशूली र बैरेनी-मुग्लिन खण्डमा भारी उपकरणहरू परिचालन गरी बाटो खुलाउने काम भइरहेको छ।

थप बाढीको जोखिम: उच्च सतर्कता अपनाउन अपिल
स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणअनुसार रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथि ल्हेन्दे खोलाको बहाव पुनः अवरुद्ध भई ०.११ वर्ग किलोमिटर क्षेत्रफलमा नयाँ ताल बनेको देखिएको छ।

प्राकृतिक रूपमा बनेको उक्त तालको बाँध फुटेर पुनः ठूलो बाढी आउन सक्ने उच्च जोखिम रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सबैलाई सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन प्राधिकरणले अनुरोध गरेको छ।

भदौ १२, २०८३ शुक्रबार ०७:२८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।