देशभर आज जनैपूर्णिमा, रक्षाबन्धन र ऋषितर्पणी मनाइँदै
काठमाडौं : वैदिक सनातन धर्मावलम्बीहरूले आज नयाँ जनै (यज्ञोपवीत) तथा रक्षाबन्धन धारण गरी जनैपूर्णिमा पर्व मनाउँदैछन्।
आजको दिन बिहानै नदी, कुण्ड तथा जलाशयमा गई विधिपूर्वक स्नान गरेर गुरु पुरोहितबाट दाहिने नाडीमा रक्षासूत्र (डोरो) बाँध्ने प्रचलन छ। यसरी मन्त्रिएको डोरो बाँध्नाले नकारात्मक तत्वबाट सुरक्षा मिल्ने धार्मिक विश्वास छ।
यसै दिन तागाधारी (ब्राह्मण, क्षेत्री र वैश्य) समुदायले आफ्नो जनै फेर्ने गर्छन्। जनै फेर्नका लागि अघिल्लो दिन (श्रावण शुक्ल चतुर्दशी) देखि नै कपाल मुण्डन गरी, एक छाक मात्र चोखो खाएर व्रत बस्ने विधान छ।
पूर्णिमाको बिहानै गाईको गोबर, खरानी, दत्तिउन र माटो लगाएर स्नान गरेपछि वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै धारण गरिन्छ। वैदिक परम्परामा जनैलाई ब्रह्मसूत्र वा ज्ञानको धागोसमेत मानिन्छ।
स्नानपछि जौ, तिल र कुशद्वारा अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण दिइने भएकाले आजको दिनलाई 'ऋषितर्पणी' पनि भनिन्छ।
क्वाँटी खाने चलन
जनैपूर्णिमाको अर्को मुख्य विशेषता क्वाँटी खाने परम्परा हो। विभिन्न थरीका गेडागुडी भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खानाले शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने, पेट सफा हुने र रुघाखोकीजस्ता रोग निको हुने आयुर्वेद शास्त्रीय मान्यता छ।
वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकालेर भित्रैदेखि तापको सञ्चार गर्न क्वाँटी खाने गरिन्छ।
तराईमा राखीको उल्लास
नेपालको तराई-मधेश क्षेत्रमा आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व उल्लासका साथ मनाउँछन्।
यसले दिदीबहिनी र दाजुभाइबीचको आत्मीय प्रेम र सम्बन्धलाई प्रगाढ बनाउने विश्वास छ। पछिल्लो समय पहाडी क्षेत्रमा पनि राखी बाँध्ने परम्परा लोकप्रिय बन्दै गएको छ।
रक्षाबन्धन बाँध्न र नयाँ जनै फेर्न बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, वसन्तपुरस्थित अशोकविनायकसहित देशभरका शिवालय र मठमन्दिरमा भक्तजनको घुइँचो लागेको छ।
यसै अवसरमा रसुवाको गोसाइँकुण्डमा मेला लाग्ने गरेकोमा यस वर्ष बाढीका कारण प्रभावित भएको छ।
ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, काठमाडौंको मणिचूड, धनुषाको जनकपुरधाम (धनुषसागर र गङ्गासागर), जुम्लाको दानसाधु र नवलपरासीको त्रिवेणीधामलगायतका तीर्थस्थलमा आज भव्य मेला लागेको छ।
भदौ १२, २०८३ शुक्रबार ०७:१२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।