सडक मार्ग खुलाउन जम्मा २० वटा उपकरण, स्टकमा सात वटा बेलिब्रिज!
काठमाडौं : भोटेकोसी नदीमा आएको बाढीका कारण अवरुद्ध भएको सडकमार्ग खुलाउन सरकारले २० वटा उपकरण परिचालन गरेको जानकारी दिएको छ।
सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त छ। गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा छ।
पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ। सडक खुलाउने कार्यलाई तीव्रता दिएको सरकारको दाबी छ। तर उपलब्ध उपकरणको संख्या भने निकै न्यून देखिन्छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार सडक अवरोध खोल्न सरकारी १० वटा र निजी क्षेत्रबाट १० वटा गरेर २० वटा उपकरण परिचालन गरिएको छ।
बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी
बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सरकारसँग ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज रहेको र आवश्यकता र सम्भावनाको पहिचान अनुसार ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार भारत र चीन सरकारले आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
पहिलो चरणमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाइएको र त्यसका लागि बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ। बेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था नरहेको मन्त्रालयले जानकारी दिएको छ।
भदौ ११, २०८३ बिहीबार १९:१७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।