भोटेकोशी बाढीले बगाएर ल्याएको शवबाट गहना निकाल्ने दुई युवक पक्राउ
काठमाडौं : भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको शवबाट सुनका गहना निकालेर लैजाने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ घर भई हाल भरतपुर–१ लीलाचोक बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला गाउँपालिका-५ घर भई हाल भरतपुर–२ पोखरा बसपार्क सुपारी टोल बस्ने ३८ वर्षीय उमेश चौधरी रहेका छन्।
बुधबार भोटेकोशी नदीको बाढीले बगाएर ल्याएको शव किनारमा भेटिएपछि मृतकको कानबाट मुन्द्रा निकालेको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियोको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले बिहीबार भरतपुर महानगरपालिका वडा नं. १ स्थित पोखरा बसपार्क नजिकैबाट दुवै जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
भदौ ११, २०८३ बिहीबार १८:४६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।