कर्णालीमा तीन जना मन्त्री थपिएसँगै मन्त्रिपरिषद्ले पायो पूर्णता
कर्णाली : कर्णाली प्रदेश सरकारमा तीन जना मन्त्री थपिएसँगै नयाँ सरकार गठन भएको करिब एक महिनामा बल्ल मन्त्रिपरिषद्ले पूर्णता पायो। बिहीबार नवनियुक्त तीन मन्त्रीहरूले कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे।
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा (कार्की) र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले शपथ गरे। प्रदेश प्रमुख जोशीले तीनै मन्त्रीहरूलाई नेपालको संविधानको धारा १७२ बमोजिम शपथ ग्रहण गराएका थिए।
प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले तीनै महिलालाई मन्त्री बनाएर पठाएपछि सरकारले पूर्णता पायो। यही भदौ ३ गते सत्ता साझेदार दल एमालेले सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई र जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमाललाई सरकारमा पठाएको थियो।
भदौ ११, २०८३ बिहीबार १६:४७:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।