‘पार्वती’लाई सेन्सरको ‘ग्रीन सिग्नल’, हलमा दर्शक रुवाउने नीताको दाउ!

‘पार्वती’लाई सेन्सरको ‘ग्रीन सिग्नल’, हलमा दर्शक रुवाउने नीताको दाउ!

काठमाडौं : अभिनेत्रीबाट निर्देशक बनेकी नीता ढुङ्गानाको ड्रिम प्रोजेक्ट मानिएको फिल्म ‘पार्वती’लाई सेन्सर बोर्डले बिना कुनै कैँची ‘युनिभर्सल’ सर्टिफिकेट थमाएको छ।

सेन्सर बोर्डबाट ‘ग्रीन सिग्नल’ पाएसँगै अब यो पारिवारिक कथाको फिल्म हेर्न दूध पिउने बालकदेखि हजुरबुबा-हजुरआमासम्म हलमा ढुक्कले जान पाउने भएका छन्।

भदौ १२ गतेदेखि देशभर रिलिज हुन लागेको फिल्मले सेन्सर पास गरेपछि निर्देशक नीता निकै दंग छिन्। ‘लेडी डिरेक्टर’ का रूपमा डेब्यू गर्न लागेकी नीताले दर्शकलाई परिवारै लिएर हलसम्म आउन निम्तो बाँडेकी छन्।

उत्साहित हुँदै नीताले भनिन्, ‘हाम्रो फिल्म सानो बाबुनानीदेखि हजुरबुबा-हजुरआमासम्म सबैले हेर्न मिल्ने भएको छ। माया, भावना र पारिवारिक सम्बन्धले भरिएको यो चलचित्र हेर्न नभुल्नुहोला।’

ट्रेलरमा रुवाबासी र अशोक दर्जीसँगको केमेस्ट्री
गत बिहीबार सार्वजनिक भएको चार मिनेट लामो ट्रेलरपछि धेरैले ‘हलमा रुमाल बोकेर जानुपर्ने’ प्रतिक्रिया दिइरहेका छन्।

फिल्ममा नीता स्वयंले अटिजम भएकी दिदीको चुनौतीपूर्ण भूमिका निभाएकी छन् भने उनको भाइको रूपमा देखिएका छन्- भाइरल बालगायक तथा अभिनेता अशोक दर्जी। दिदी-भाइको यही कसिलो माया र रोदनले दर्शकको आँखा रसाउने पक्का देखिन्छ।

विशेष कुरा त के भने, श्रीमती नीताको निर्देशन रहेको यस फिल्ममा श्रीमान् हरिहर अधिकारीले खुलेर पैसा खन्याएका छन्। पर्दापछाडि जोडीको यो सहकार्यलाई फिल्मी वृत्तमा निकै चासोका साथ हेरिएको छ।

फिल्मका यसअघि सार्वजनिक ‘सुनको रेल’ र ‘दिदीबहिनी’ बोलका गीतहरू युट्युबमा छाएका छन्। बाबुल गिरी र दीपक शर्माको संगीत तथा अशोक दर्जी, रचना रिमाल लगायतको स्वर रहेका गीतहरूले फिल्मको माहोल तताइसकेका छन्।

फिल्ममा नीता र अशोकका साथमा चर्चित अभिनेत्री दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायतको जम्बो टोली देखिनेछ। फिल्मको कथा स्वयं नीताले लेखेकी हुन् भने संवाद शिवम् अधिकारीको हो।

हरिहर अधिकारी निर्माता र शंकर पाण्डे कार्यकारी निर्माता रहेको यस फिल्मलाई उपत्यकामा एफडी र बाहिर एप्पल तथा रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन्।

भदौ ५, २०८३ शुक्रबार १२:१३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।