सांगीतिक प्रस्तुति दिन काठमाडौं आइपुगे ‘मुसुमुसु हाँसिदेऊ’का शान
काठमाडौं : भारतीय गायक शान्तनु मुखर्जी (शान) सांगीतिक प्रस्तुति दिन शुक्रबार दिउँसो काठमाडौं आइपुगेका छन्। ठमेलस्थित ‘क्लब नोभा’मा शनिबार राति आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनी नेपाल आएका हुन्।
नेपालको सबैभन्दा ठूलो इन्डोर इभेन्ट भेन्यु दाबी गरिएको क्लब नोभामा उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्। आयोजकका अनुसार शनिबारको कार्यक्रममा उनले करिब ४० वटा चर्चित गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाउने आयोजकले जनाएको छ।
सन् २०११ पछि सांगीतिक कार्यक्रमका लागि पहिलो पटक नेपाल आएका शान नेपाली श्रोतामाझ पनि चर्चित छन्। सन् १९९९ को हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’मा समावेश नेपाली शब्द समेटिएको गीत ‘मुसुमुसु हाँसिदेऊ’का कारण उनी नेपालमा चर्चित छन्।
यस पटकको नेपाल भ्रमणका क्रममा गायक शानले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने, काठमाडौं उपत्यकाका विभिन्न स्थानको भ्रमण गर्ने र नेपाली ममको स्वाद लिने योजना समेत बनाएका छन्।
भदौ ५, २०८३ शुक्रबार १७:३१:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।