१० करोडको स्टुडियोबाट हरिवंशले थाले ‘पाँच पाण्डव’को डबिङ !
काठमाडौं : आगामी तिहारमा बक्सअफिस तताउने तयारीमा रहेको मल्टिस्टारर फिल्म ‘पाँच पाण्डव’को पोस्ट-प्रोडक्सनले गति लिएको छ।
म्युजिक नेपालले करिब १० करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएको देशकै पहिलो दाबी गरिएको ‘डल्बी एट्मस साउन्ड स्टुडियो’ मा बिहीबारदेखि फिल्मको डबिङ सुरू भएको हो।
डबिङको सुरुवात वरिष्ठ अभिनेता हरिवंश आचार्यले आफ्नो दमदार आवाज भरेर गरेका छन्। फिल्ममा साउन्डको काम अत्याधुनिक डल्बी एटमसमा गराइएकाले दर्शकले हलमा सुन्दा कानै रमाउने ‘साउन्ड इफेक्ट’ पाउने दाबी निर्माण टिमको छ।
प्राविधिक रूपमा कुनै सम्झौता नगरेको बताउँदै निर्देशक वसन्त निरौला भन्छन्, ‘हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौँ। दर्शकलाई साउन्डको फरक टेस्टसहित प्राविधिक रूपमा पनि उत्तिकै अब्बल र भव्य सिनेमा दिनेछौँ।’
फिल्मी वृत्तमा ‘पाँच पाण्डव’ को चर्चा चुलिनुको मुख्य कारण यसको ‘अनस्क्रिन टिम’ पनि हो। महाभारतका पाँच पाण्डवजस्तै फिल्ममा ५ फरक-फरक धारका स्टारहरूलाई एकसाथ भिडाइएको छ।
वरिष्ठ अभिनेता हरिवंश आचार्यसँगै रोमान्टिक हिरो आर्यन सिग्देल, कमेडी किङ जितु नेपाल, थिएटर पृष्ठभूमिबाट उदाएका भर्सटाइल महेश त्रिपाठी र चकलेटी सुशील सिटौला ‘पाँच पाण्डव’ को मुख्य भूमिकामा छन्। यति धेरै स्टारहरूलाई एउटै फ्रेममा जुधाएर निर्देशकले कस्तो स्वाद पस्किएका होलान् भन्ने कौतूहल दर्शकमाझ छ।
यी पाँच भाइको वरिपरि घुम्ने कथामा साथ दिन हिट निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, अनुभवी अभिनेत्री सरिता गिरी, प्रशान्त ताम्राकार, ग्ल्यामरस मोडल इभा गिरी, बिनोद न्यौपाने, रमा थपलिया र सीता न्यौपाने लगायतको जम्बो टोली पर्दामा देखिनेछ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्ममा काली रानी श्रेष्ठको लगानी छ भने गत वर्ष ‘लाजशरणम्’ बनाएर चर्चामा आएका नवीन श्रेष्ठ प्रस्तुतकर्ता छन्। रंग-पत्रकार सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको यो फिल्म ‘सोसल ड्रामा’मा आधारित छ।
झापा र काठमाडौंका विभिन्न लोकेसनमा खिचिएको फिल्ममा श्याम तामाङको डीओपी, सुप्रिम पराजुलीको सम्पादन, अर्जुन पोखरेलको संगीत, सुजिल कर्माचार्यको बीजीएम र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ।
भदौ ५, २०८३ शुक्रबार १३:०९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।