बाबा रामदेवमाथि खनिइन् कंगना रनौत, ‘मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्, मलाई चरित्रको पाठ नपढाउनुस्’

बाबा रामदेवमाथि खनिइन् कंगना रनौत, ‘मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्, मलाई चरित्रको पाठ नपढाउनुस्’

काठमाडौं : बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा)की सांसद कंगना रनौत र योगगुरु बाबा रामदेवबीच सामाजिक सञ्जालमा तीखो वाक्युद्ध भएको छ।

कंगनाको विवादास्पद अभिव्यक्तिका विषयमा रामदेवले टिप्पणी गरेपछि कंगनाले इन्स्टाग्राममार्फत उनीमाथि कडा प्रहार गरेकी हुन्।

रामदेवले आफ्नो विगत र युवावस्थामाथि प्रश्न उठाएको समाचारको स्क्रिनसट सेयर गर्दै कंगनाले लेखेकी छन्, ‘बाबाजी, मेरो जवानी वा बेडरुमको सपना नदेख्नुस्। हल्ला र अफवाहका भरमा जो-कसैले अनुमान लगाउन सक्छ, तर मलाई सर्वोच्च अदालतले कुनै भ्रामक दाबी गरेको भन्दै फटकार लगाएको छैन।’

उनले अगाडि लेखेकी छन्, ‘मलाई चरित्रको पाठ नपढाउनुस्। मेरो चरित्र तपाईंभन्दा धेरै राम्रो छ, यहाँ कुनै ठगी भएको छैन।’

विवादको सुरुवात कसरी भयो ?
विवादको जड कंगनाले केही युवा प्रदर्शनकारीलाई ‘जेनेरेसन गटर’ भनी गरेको टिप्पणीबाट सुरु भएको थियो।

पछि स्पष्टीकरण दिँदै कंगनाले आफूलाई ‘कक्रोच’ (साङ्लो) भन्नेहरूलाई मात्र गटरको संज्ञा दिएको बताएकी थिइन्।

उनको भनाइ थियो, ‘यदि कसैले आफूलाई कक्रोच भन्छ भने कक्रोच गटरमै बस्छ भन्ने कुरा स्वाभाविक हो। मैले सबै युवालाई भनेकी होइन, केही व्यक्तिलाई मात्र सङ्केत गरेकी हुँ।’

कंगनाको यही अभिव्यक्तिको आलोचना गर्दै बाबा रामदेवले सञ्चारकर्मीहरूसँग उनको विगत र युवावस्थामाथि प्रश्न उठाएका थिए, जसको जवाफमा कंगना आक्रोशित भएकी हुन्।

कंगनाले आफ्नो पोस्टमार्फत सन् २०२४ मा पतञ्जलि आयुर्वेदको भ्रामक विज्ञापनसम्बन्धी मुद्दालाई स्मरण गराएकी हुन्।

उक्त मुद्दामा बाबा रामदेव र आचार्य बालकृष्णले भारतीय सर्वोच्च अदालतमा लिखित शपथपत्रमार्फत बिना सर्त माफी मागेका थिए।

उनीहरूले भविष्यमा भ्रामक औषधीय दाबी वा आधुनिक चिकित्सा (एलोप्याथी) विरुद्ध अपमानजनक टिप्पणी नगर्ने प्रतिबद्धता जनाएका थिए।

भदौ ४, २०८३ बिहीबार १०:३१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।