आठ वर्षपछि पर्दामा फर्किँदा निरुताको कारुणिक अवतार, भन्छिन्- ‘यो पात्रको अभिनय गर्नु मेरा लागि सहज थिएन’
काठमाडौं : नेपाली रजतपटकी सदाबहार अभिनेत्री निरुता सिंह लामो अन्तरालपछि फिल्मको पर्दामा फर्किएकी छन्।
तर, यसपटक उनी कुनै चुलबुले भूमिका वा रोमान्टिक गीतमा नाच्दै होइन, काखमा दुधे बच्चा च्यापेर पैतालाबाट रगत चुहाउँदै गरेको कारुणिक अवतारमा देखिँदैछिन्।
उत्तम प्रधान र निरुता सिंहको मुख्य भूमिका रहेको फिल्म ‘सारथी’को सार्वजनिक पहिलो पोस्टरले फिल्म भावुक भएको संकेत गर्छ। फिल्मको पोस्टर रिलिजपछि निरुता पनि भावुक बनेकी छन्।
निरुता लेख्छिन्, ‘आठ वर्षमा म चलचित्रबाट टाढा रहेँ होला, तर चलचित्र मेरो मनबाट कहिल्यै टाढा भएन। दर्शकहरूले दिनुभएको माया नै मेरो सबैभन्दा ठूलो शक्ति रह्यो। यो पात्रलाई अभिनय गर्नु मेरो लागि सहज थिएन, तर यही असहजताभित्र मैले कलाकारका रूपमा आफूलाई फेरि खोज्ने अवसर पाएँ।’
फिल्मी वृत्तमा ‘सारथी’को चर्चा चुलिनुको मुख्य कारण दुई दशकअघिका ‘सुपरहिट अनस्क्रिन जोडी’ निरुता सिंह र उत्तम प्रधानको सहकार्य नै हो। ‘दर्पण छायाँ’को त्यो चर्चित जोडीलाई फेरि एउटै फिल्ममा देख्न पाउनु दर्शकका लागि नोस्टाल्जिक क्षण हो।
तर, निर्माण टिमले यी दुई स्टारलाई पर्दामा एउटै फ्रेममा रोमान्स वा संवाद गराएको छ कि छुट्टाछुट्टै कथामा राखेको छ, त्यो भने अझै रहस्यकै गर्भमा छ। फिल्ममा उत्तमको पनि विशेष भूमिका रहेको बताइएको छ।
तीन दशकदेखि पर्दापछाडि कैँची चलाएर सयौँ नेपाली फिल्मलाई पूर्णता दिएका वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ ले यसै फिल्ममार्फत निर्माताका रूपमा डेब्यू गरेका छन्।
किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा बनेको यो फिल्म म्याग्दीको विकट तथा रमणीय गुर्जा क्षेत्रमा खिचिएको हो।
फिल्ममा निरुता र उत्तमका साथमा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा लगायतको अभिनय छ। सङ्कल्प भुजेलको छायाङ्कन, बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको फिल्मलाई आरआर फिल्म्सले देशभर वितरण गर्दैछ।
भदौ ५, २०८३ शुक्रबार १३:३१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।