रोबोटलाई किन चाहियो टिप? न घरभाडा तिर्नु छ, न परिवार पाल्नु छ!

रोबोटलाई किन चाहियो टिप? न घरभाडा तिर्नु छ, न परिवार पाल्नु छ!

एजेन्सी : अमेरिकाको लस भेगासस्थित भेनेसियन होटलको एउटा बारको नाम हो- ‘द टिप्सि रोबोट’। यो बारको विशेषता के हो भने, यहाँ मानिस होइन, दुईवटा रोबोटिक हातले ककटेल बनाउँछन्।

स्क्रिनमा ‘मार्गारिटा’ रोजेपछि ती मेसिनका हातहरू चल्न थाल्छन्। टकिला, कागतीको रस र अन्य पेय मिसाएर कलात्मक शैलीमा घुम्दै रोबोटले टेबलमा गिलास राखिदिन्छ। २० वर्षअघि यस्तो दृश्य देख्दा मानिसहरू चकित हुन्थे होला, तर आजको प्रविधिको युगमा यो सामान्य भइसकेको छ।

तर, १७ डलरको ड्रिङ्क किन्दा स्क्रिनमा अर्को एउटा अनौठो विकल्प देखियो- ‘१० प्रतिशत सर्भिस फी’ अर्थात् ‘टिप’। न भावना भएको, न तलब चाहिने रोबोट आफैँ ग्राहकसँग टिप मागिरहेको थियो!

यो कुनै एउटा बारको मात्र घटना होइन। न्युयोर्कको ‘आर्टली कफी’ मा रोबोट बरिस्टाले कफी बनाएपछि टिप माग्छ। न्युअर्क एयरपोर्टको मानवरहित सेल्फ-चेकआउट मेसिनमा पानीको बोतल किन्दा टिप दिने अप्सन आउँछ। त्यस्तै, ओरेगनको एउटा रेस्टुरेन्टमा अर्डर मानिसले लिन्छ तर खाना रोबोटले टेबलसम्म ल्याउँछ।

मानव वेटरलाई खुसी भएर २० प्रतिशतसम्म टिप दिनु सामान्य हो। तर, जब मेसिनले नै डिजिटल हात फैलाएर टिप माग्न थाल्छ, तब मनमा प्रश्न उब्जिन्छ- आखिर यो पैसा जान्छ कसको खल्तीमा?

टिपको पैसा कसको खल्तीमा?
अमेरिकामा रेस्टुरेन्ट र बारहरूमा टिपको संस्कृति निकै पुरानो हो। त्यहाँ न्यूनतम ज्याला प्रतिघण्टा ७.२५ डलर भए पनि टिप पाउने कर्मचारीलाई कम्पनीहरूले प्रतिघण्टा जम्मा २.१३ डलर मात्र आधारभूत तलब दिन्छन्। बाँकी आम्दानी ग्राहकको टिपबाट हुन्छ।

कानुनअनुसार मानिसले पाएको टिपमा मालिक वा म्यानेजरले हिस्सा लिन पाउँदैनन्। तर, रोबोटले मागेको टिप कसको हो भन्नेबारे कुनै कानुन नै छैन।

‘ग्राचुइटी’ पुस्तकका सह-लेखक तथा लेहाइ विश्वविद्यालयका सह-प्राध्यापक होलोना ओक्स भन्छिन्, ‘रोबोटले पाउने टिपमा कसको अधिकार हुन्छ भन्ने कानुनी मापदण्ड अझै बनेको छैन। त्यसैले धेरै बेइमान साहुहरूले रोबोटको नाममा आएको टिप आफैँ खल्तीमा हाल्ने प्रशस्त ठाउँ छ।’

केही कम्पनीहरू भने रोबोटले मागेको टिप गलत नभएको दाबी गर्छन्। ‘द टिप्सि रोबोट’ र ‘आर्टली कफी’ का अनुसार रोबोटले संकलन गरेको टिप कम्पनीले राख्दैन, पछाडि बसेर काम गर्ने किचन स्टाफ, क्लिनरलाई बाँडिन्छ।

मिसिसिपी विश्वविद्यालयमा हस्पिटालिटी टेक्नोलोजी अध्ययनरत सह-प्राध्यापक क्याटरिना बेरेजिनाका अनुसार, टिप वा सर्भिस फी रोबोटको मर्मत, सफ्टवेयर अपडेट र पछाडि खटिने जनशक्तिका लागि आवश्यक हुन सक्छ। सेवा क्षेत्रमा कामदारको अभाव भइरहेका बेला रोबोटले मानिसको रोजगारी नखोसी सहयोग पुर्याइरहेको व्यवसायीहरूको तर्क छ।

तर, श्रमिक अधिकारकर्मीहरूको भनाइ भने फरक छ। उनीहरूका अनुसार यो ग्राहकमाथि गरिएको इमोसनल ब्ल्याकमेल हो। कम्पनीहरूले आफ्ना कामदारलाई राम्रो तलब दिनुको साटो रोबोटको नाममा ग्राहकबाटै थप पैसा असुल्ने बहाना बनाइरहेका छन्।

रोबोटलाई टिप दिने कि नदिने?
कर्नेल विश्वविद्यालयका प्राध्यापक तथा ‘द साइकोलोजी अफ टिपिङ’ का लेखक माइकल लिन भन्छन्, ‘हामी मानिसलाई टिप किन दिन्छौँ? राम्रो सेवा दिएबापत, उसको कम तलबमा सहयोग पुगोस् भनेर वा टिप नदिए अपमान होला कि भन्ने सामाजिक दबाबका कारण। यीमध्ये कुनै पनि कुरा रोबोटमा लागू हुँदैन। त्यसैले रोबोटलाई टिप दिनुको कुनै तुक छैन।’

एउटा अध्ययनअनुसार सुरुमा ११ प्रतिशत मानिसले मात्र रोबोटलाई टिप दिन चाहेको बताएका थिए। तर, जब त्यो टिप रोबोटलाई नभई पछाडि काम गर्ने मानव कर्मचारीलाई जान्छ भन्ने थाहा भयो, ४२ प्रतिशत मानिस टिप दिन तयार भए।

डिजिटल भुक्तानी बढेसँगै विश्वभरि नै जताततै टिप माग्ने प्रवृत्ति फैलिँदै गएको छ। यसले धेरै उपभोक्तालाई दिक्क बनाएको छ।

तर विज्ञहरूका अनुसार, यो रोबोट टिपिङको भविष्य ग्राहककै हातमा छ। कसैले पनि तपाईंलाई जबर्जस्ती टिप तिराउन सक्दैन। यदि ग्राहकहरूले मेसिनलाई टिप दिन अस्वीकार गरे र यसले गर्दा व्यापार घट्न थाल्यो भने कम्पनीहरू आफैँ यो प्रणाली हटाउन बाध्य हुनेछन्।

अन्ततः, डिजिटल हात फैलाउने रोबोटलाई टिप दिने वा नदिने भन्ने निर्णय तपाईंको आफ्नै खल्ती र विवेकमा निर्भर छ।

भदौ ५, २०८३ शुक्रबार ११:२५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।