इरानविरुद्ध अहिलेसम्मकै 'सबैभन्दा विनाशकारी आर्थिक कारबाही’ गर्ने ट्रम्पको घोषणा, व्यापार गर्ने देशहरूलाई पनि कारबाहीको चेतावनी
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै 'सबैभन्दा विनाशकारी आर्थिक कारबाही' सुरु गर्ने घोषणा गरेका छन्।
दुवै देशबीच जारी युद्ध अन्त्यका लागि भइरहेको वार्तामा सहमति जुट्न नसकेपछि ट्रम्पले इरानमाथि आर्थिक दबाब तीव्र पारेका हुन्। ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले इरानले सम्झौता गर्ने अवसर गुमाएको र अब उसले 'अभूतपूर्व स्तरको आर्थिक युद्ध र एक्लोपन' को सामना गर्नुपर्ने बताएका छन्।
साथै, इरानसँग व्यापार वा वित्तीय सम्बन्ध कायम राख्ने जुनसुकै देश वा निकायमाथि पनि कडा प्रतिबन्ध लगाउने चेतावनी उनले दिएका छन्। ट्रम्पले लेखेका छन्, 'इरानलाई कुनै पनि प्रकारको सहयोग वा आर्थिक सहारा दिने जुनसुकै देश, वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायले गम्भीर आर्थिक परिणामको सामना गर्नुपर्नेछ।'
उनले इरानसँग भइरहेको तेल तस्करी, मुद्रा आदानप्रदानका वित्तीय व्यवस्था, नगद स्थानान्तरण, एक्सचेन्ज हाउस, जहाज दर्ता तथा इरानसँग कारोबार गर्ने ‘फ्रन्ट कम्पनी’हरू तत्काल रोक्नुपर्ने बताएका छन्। ट्रम्पले यसलाई 'आर्थिक डी–डे'को संज्ञा दिँदै इरानलाई एक्ल्याउन र 'इरानको खतरालाई परास्त गर्न' सबै सहयोगी राष्ट्र अमेरिकासँग उभिनुपर्ने बताएका छन्।
पहिलेबाटै जारी छ आर्थिक दबाब
गत फेब्रुअरीमा इरानमाथि अमेरिकी-इजरायली आक्रमण सुरु भएदेखि नै ट्रम्प प्रशासनले ‘अपरेसन इकोनोमिक फ्युरी’ अन्तर्गत इरानमाथि कडा आर्थिक प्रतिबन्ध र जलसेनाद्वारा नाकाबन्दी लगाउँदै आएको छ। अमेरिकाले यसअघि नै इरानको तेल, ढुवानी र वित्तीय क्षेत्रमाथि व्यापक प्रतिबन्ध लगाइसकेको छ। तेहरानले ऊर्जा निर्यातबाट प्राप्त गर्ने आम्दानी रोक्ने उद्देश्यले ती प्रतिबन्ध लगाइएको हो।
अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दीसमेत लगाएको छ। साथै, इरानलाई विदेशमा तेल बिक्री गर्न सहयोग गरेको आरोप लागेका कम्पनी, ब्रोकर र ट्यांकरलाई समेत निशाना बनाउँदै आएको छ।
ट्रम्पको घोषणालाई इरानले भन्यो - पुरानै कदम
इरानी अधिकारीहरूले यसबारे आधिकारिक प्रतिक्रिया नदिए पनि त्यहाँका सरकारी तथा अर्ध-सरकारी सञ्चारमाध्यमहरूले ट्रम्पको घोषणालाई खारेज गरेका छन्।
इरानको राज्य नियन्त्रित प्रसारक आइआरआईबीले यसलाई अमेरिकाको 'सैन्य आक्रमकताको असफलता' पछि आएको हताशाको रूपमा टिप्पणी गरेको छ।
अर्ध-सरकारी तस्निम समाचार एजेन्सीले ट्रम्पको यो कदम 'नयाँ विकासक्रम नभएको' जनाएको छ। अमेरिकाले वर्षौंदेखि इरानसँगको वित्तीय तथा आर्थिक सम्बन्ध रोक्ने प्रयास गरिरहेको भए पनि तेहरानले प्रतिबन्ध छल्न सिकिसकेको र त्यसमा निकै दक्ष भइसकेको तस्निमले जनाएको छ।
फार्स न्यूज एजेन्सीले ट्रम्पको दाबीलाई 'भ्रामक' भन्दै अमेरिकाले बारम्बार इरानको पतन र सैन्य विनाशको दाबी गरे पनि ठोस परिणाम दिन नसकेको उल्लेख गरेको छ।
अल जजिराका पत्रकार माइक हन्नाका अनुसार ट्रम्पको यो कदमले ५ महिना लामो द्वन्द्वमा आएको गतिरोधप्रतिको 'हताश' देखाउँछ। उनले यसअघि नै इरानमाथि भारी प्रतिबन्ध लागिसकेकाले ट्रम्पसँग थप नयाँ आर्थिक हतियार के बाँकी छ भन्ने प्रश्न खडा भएको र यो अमेरिकी जनतालाई लक्षित गरिएको वक्तव्य हुन सक्ने बताएका छन्।
भदौ ४, २०८३ बिहीबार १२:०२:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।