देउवालाई लक्षित गगनको कटाक्ष : ‘पाँच पटक प्रधानमन्त्री भएकालाई छैटौं पटक नहुँदा असन्तुष्टि!’

देउवालाई लक्षित गगनको कटाक्ष : ‘पाँच पटक प्रधानमन्त्री भएकालाई छैटौं पटक नहुँदा असन्तुष्टि!’

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावमा बहुमत वा दुई तिहाइलाई मात्रै सफलता ठान्ने तत्कालीन पार्टी नेतृत्वको गलत प्रवृत्तिले लोकतन्त्र नै संकटमा परेको आरोप लगाएका छन्।

नन्दप्रसाद जानुका फाउन्डेसनद्वारा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै थापाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै बहुमत प्राप्तिलाई जनताको समर्थन रहेको गलत सोच नेतृत्वमा रहेको बताए।

 आफूले नागरिकको असन्तुष्टिबारे तत्कालीन कांग्रेस नेतृत्वलाई पटक-पटक सचेत गराए पनि त्यसलाई गम्भीर रूपमा नलिइएको उनको भनाइ थियो। 

"यतिबेला दुई तिहाइमाथि पनि प्रश्न उठिरहेको छ। पाँच पटक प्रधानमन्त्री भएको मान्छे छैटौं पटक भएन भनेर असन्तुष्ट हुन्छ। दुई पटक सभापति भएको मान्छे तेस्रो पटक हुन पाइन भनेर असन्तुष्ट हुन्छ। महत्वकांक्षा यसरी बढ्दै जान्छ," थापाले भने।

लोकतन्त्रमा निर्वाचनबाट प्राप्त संख्या मात्रै पर्याप्त नहुने भन्दै उनले जनताको निरन्तर समर्थन, नैतिक नेतृत्व र नागरिकको विश्वास पनि उत्तिकै महत्त्वपूर्ण हुने धारणा राखे।

तत्कालीन नेतृत्वले समाजमा देखिएको सन्तुष्टि गम्भीर रूपमा नलिँदा त्यसको राजनीतिक मूल्य आफूहरूले समेत चुकाएको उनको भनाइ थियो। लोकतन्त्रमा कानुनी वैधानिकता मात्रै पर्याप्त नहुने भन्दै थापाले राजनीतिक निर्णयको नैतिक वैधता र नागरिक स्वीकार्यता पनि परीक्षण हुनुपर्ने बताए। 

संख्या पुग्दैमा कुनै निर्णय सही नहुने भन्दै उनले त्यसलाई जनताले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने प्रश्न महत्त्व हुने बताए। "डेमोक्रेसीमा संख्या मात्रै सबै कुरा होइन," थापाले भने, "नागरिकले मान्छन् कि मान्दैनन्, समाजले पत्याउँछ कि पत्याउँदैन भन्ने पनि हेर्नुपर्छ।"

राजनीतिक दलभित्र राजकीय पद प्राप्तिलाई मात्रै राजनीतिक सफलताको मापदण्ड बनाउँदा ठूलो असन्तुष्टि पैदा भएको उनको भनाइ छ। 

भदौ ४, २०८३ बिहीबार १७:४२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।