खाडी मुलुकलाई इरानको चेतावनी, 'अमेरिकी सेनालाई सहयोग गरे कारबाहीमा संलग्न मानिने'

खाडी मुलुकलाई इरानको चेतावनी, 'अमेरिकी सेनालाई सहयोग गरे कारबाहीमा संलग्न मानिने'

एजेन्सी : अमेरिका र इरानबीच जारी युद्धका बीच इरानी सशस्त्र सेनाले खाडी क्षेत्रका देशहरूलाई कडा चेतावनी दिएको छ। अमेरिकी सेनालाई आफ्नो भूभाग प्रयोग गर्न दिने वा कुनै पनि प्रकारको सहयोग पुर्याउने खाडी मुलुकलाई अमेरिकाको सैन्य कारबाहीमै सहभागी भएको मानिने इरानी सेनाले स्पष्ट पारेको छ।

इरानी सशस्त्र सेनाका चिफ अफ स्टाफ अली अब्दोलाहीका अनुसार खाडी मुलुकमा रहेका अमेरिकी सैन्य आधारहरूबाट इरानविरुद्ध हुने गतिविधिबारे आफूहरू पूर्ण रूपमा जानकार रहेको छ। सम्बन्धित देशको सहमति वा जानकारीविना अमेरिकी सैन्य विमान तथा इन्धन भर्ने विमानहरू तैनाथ हुन नसक्ने भन्दै उनले इरानविरुद्ध भूभाग प्रयोग गर्न  नदिने भन्दै वक्तव्य जारी गरेका देशहरूलाई सचेत गराएका छन्।

इरानले अमेरिकी सेनालाई सुविधा वा सहयोग उपलब्ध गराउनुलाई इरानविरुद्धको युद्धमा प्रत्यक्ष सहभागिता मानिने जनाएको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि दुई देशबीच युद्ध सुरु भएको थियो। जवाफमा इरानले क्षेत्रभर रहेका अमेरिकी सैन्य आधारहरूमा क्षेप्यास्त्र तथा ड्रोन प्रहार गर्दै आएको छ।

यसैबीच, अमेरिकी नौसेनाले ‘युएसएस अब्राहम लिङ्कन’को सट्टा ‘युएसएस जर्ज वासिङ्टन’ विमानवाहक युद्धपोत मध्यपूर्वमा पुनः तैनाथ गर्न लागेको छ।

खाडी मुलुकहरूले आफूहरू युद्धमा सहभागी नहुने बताउँदै आए तापनि अमेरिकी सैन्य आधारको निरन्तर प्रयोगलाई लिएर तेहरानले उनीहरूमाथि राजनीतिक तथा सैन्य दबाब बढाएको छ।

इरान र अमेरिकाबीच जारी युद्धका बीच इरानी सेनाको यस्तो चेतावनीले खाडी क्षेत्रमा सैन्य तनाव थप बढ्ने सङ्केत गरेको छ।

भदौ ३, २०८३ बुधबार १४:५९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।