महाधिवेशनको निष्पक्षतामा गगनको जोड, भने : ‘सबैले परिणाम स्वीकार्ने वातावरण बनोस्’

महाधिवेशनको निष्पक्षतामा गगनको जोड, भने : ‘सबैले परिणाम स्वीकार्ने वातावरण बनोस्’

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गरिने बताएका छन्। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले निर्वाचन समितिको मुख्य जिम्मेवारी निर्वाचन गराउनु भए पनि त्यसको पारदर्शिता र निष्पक्षता सबैभन्दा महत्त्वपूर्ण हुने बताए।

निर्वाचन समितिका पदाधिकारीहरू पार्टी नेतृत्वबाटै प्रस्तावित हुने भए पनि जिम्मेवारी सम्हालेपछि उनीहरूले देखाउने निष्पक्षताकै कारण निर्वाचनको परिणाम सबैले स्वीकार गर्ने वातावरण बन्ने उनले उल्लेख गरे। थापाले निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई पनि राजनीतिक आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर जिम्मेवारी पूरा गर्न आग्रह गरिएको जानकारी दिए।

थापाले भने, "आफूलाई को मन पर्छ, को मन पर्दैन, त्यो छुट्टै विषय हो। तर निर्वाचनको काम सुरु भइसकेपछि सबैले यसमा फेयरनेस महसुस गर्न पाउनुपर्छ।" महाधिवेशनमा क्रियाशील सदस्यता र निर्वाचन प्रक्रियामा विवाद हुने गरेको उल्लेख गर्दै उनले यस पटक सदस्यता प्रणाली 'डिजिटलाइज' भइसकेकाले त्यस्तो समस्या नदोहोरिने दाबी गरे।

महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापकीय समितिले काम टुंग्याएपछि सोही सूची निर्वाचन समितिलाई मतदाता नामावलीका रूपमा हस्तान्तरण गरिने उनले स्पष्ट पारे। सदस्यता वितरण वा निर्वाचन समितिको कार्यशैलीमा कुनै आशंका भए आफू खुला छलफलका लागि तयार रहेको उनको भनाइ थियो। 

उनले भने, "सदस्यताको सन्दर्भमा कुनै प्रश्न छ वा अहिले गरेको काम निष्पक्ष भएन भन्ने आशंका छ भने अर्को कुन समिति बनाउनुपर्ने हो, कसरी बनाउनुपर्ने हो, त्यसका लागि म तयार छु, हामी तयार छौं।" महाधिवेशनको मिति र स्थान केन्द्रीय कार्यसमितिले तोक्ने र प्राविधिक कार्यतालिका निर्वाचन समितिले तय गर्ने पार्टीको परम्परा रहेको उनले बताए।

समयको चाप भए पनि प्रविधिको प्रयोगका कारण यस पटक प्रक्रिया सहज हुने विश्वास व्यक्त गर्दै थापाले कुनै पनि पूर्वाग्रह नराखी काम अघि बढाउनुपर्नेमा जोड दिए। "कहीँ कतै कुनै पनि खालका अनियमितता भएनन् वा कोहीप्रति पनि पूर्वाग्रह राखिएन भन्ने कुरा स्थापित हुने गरी गर्नुपर्ने छ," उनले भने। 

भदौ २, २०८३ मंगलबार २०:२१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।