भाइरल बनेको एउटा अनौठो ‘ग्र्याजुएसन’ उपहार

भाइरल बनेको एउटा अनौठो ‘ग्र्याजुएसन’ उपहार

एजेन्सी : नाइजेरियाका २३ वर्षीय छात्र प्रोमिस ओकोरोले अन्तिम परीक्षापछि आमाबाट पाएको अनौठो उपहारले अहिले सामाजिक सञ्जालमा चर्चा बटुलेको छ। विश्वविद्यालयको पढाइ पूरा गरेको खुसीमा उनकी आमा चिन्येरेले उनलाई बोका उपहार दिएकी थिइन्, जसको भिडियो भाइरल भएपछि उक्त बोकासमेत ‘सेलिब्रेटी’ बनेको छ।

फेडेरल पोलिटेक्निक नेकेडेबाट फार्मास्युटिकल टेक्नोलोजीमा आफ्नो अन्तिम परीक्षा दिएर बाहिर निस्कँदा प्रोमिस साथीहरूसँग 'साइनिङ-आउट' उत्सव मनाउने 'मुड'मा थिए। सेतो सर्टमा केही साथीहरूले शुभकामनाका सन्देशहरू लेखिरहेका थिए भने केही संगीत बजाउँदै, फोटो खिच्दै र भिडियो बनाउँदै उनलाई पर्खिरहेका थिए।

त्यहीबेला, एकाएक भीडबाट उनकी आमा चिन्येरे डोरीमा बोका डोर्याउँदै छोरालाई बधाई दिन आइपुगिन्। सुरुमा साथीहरु चिच्याएको देखेर प्रोमिसले कसैले विवाहको प्रस्ताव गर्न लागेको ठाने। तर, जब साथीहरूले उनकी आमा र बोकालाई घेरेर हुटिङ गर्न थाले, उनी चकित परे। त्यहाँको माहोल नै बेग्लै भयो। यो देखेर प्रोमिस भावुक बने। उनका साथीहरूले पनि खुसी हुँदै ताली बजाए।

"म निकै खुसी भएँ, भावुक पनि बनेँ," प्रोमिसले बीबीसीसँग भने, "मलाई अलिकति पनि अप्ठ्यारो लागेन, मेरा साथीहरूले पनि खुसी मनाए।"

उक्त क्षणको भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिएपछि यो निकै छिटो भाइरल बन्यो। सञ्जालको कमेन्ट बक्समा हजारौँ मानिसहरूले सकारात्मक प्रतिक्रिया दिए। कतिपयका लागि भने उपहारका रुपमा बोका दिनु अनौठो पनि लाग्यो।

तर, दक्षिण-पूर्वी नाइजेरियाको इग्बो समुदायमा बोका उपहार दिनुको विशेष सांस्कृतिक महत्त्व हुन्छ।

बोकालाई सम्मान, कृतज्ञता र शुभकामनाको प्रतीकका रूपमा विशेष अवसरमा उपहार दिने परम्परा रहेको छ। यसलाई सम्मान, कदर र सद्भावको प्रतीकका रूपमा विवाह, पारिवारिक उत्सव वा विशेष अतिथिको स्वागतका क्रममा उपहार दिने गरिन्छ।

पेट बन्यो बोका, मन पर्छ 'फ्राइड राइस'

प्रोमिसले अहिलेसम्म आफ्नो बोकाको नाम राखेका छैनन्। बोकालाई के गर्ने भन्ने विषयमा केही मानिसले प्रश्न गरे पनि आफूले त्यसलाई कहिल्यै नमार्ने बताएका छन्। प्रोमिसका अनुसार यो बोका अब उनको घरको सदस्यजस्तै बनिसकेको छ।

"यो मेरो पाल्तु जनावर (पेट) बनिसकेको छ, मेरो लागि निकै बहुमूल्य छ। म यसलाई मारेर खाने कुनै सोचमा छैन," उनले भने।

बरु, उनी एउटा बाख्रा ल्याएर यिनीहरूको जोडी बनाउने विचारमा छन्।

अहिले यो बोका होस्टेल वरिपरि निर्धक्क घुम्छ र यसका केही बानीहरु मानिसका जस्तै छन्। "यसलाई फ्राइड राइस निकै मन पर्ने रहेछ! मेरो जुठो फ्राइड राइस निकै मीठो मानेर खान्छ," प्रोमिसले हाँस्दै भने।

अहिले यो बोका स्थानीयस्तरमा ‘सेलेब्रिटी’ जस्तै बनेको छ। उनी बोकालाई कारमा घुमाउन लैजाने, साँझ सडकमा हिँडाउनेसमेत गर्छन्। 

प्रोमिसले बोकालाई सुपरमार्केट र बेलुकीको पैदल यात्रामा लैजाँदा मानिसहरू फोटो खिच्नसमेत उत्साहित हुने गरेका छन्। "कारमा मेरो पछाडि बसेर मलसम्म जाँदा पनि यो निकै शान्त थियो। अहिले त यो मभन्दा पनि बढी चर्चित भइसकेको छ," प्रोमिस भन्छन्।

मर्सिडिज जिपको साटो बोका उपहार

प्रोमिसकी आमा चिन्येरे आफ्ना छोरालाई सरप्राइज दिन उबाहा-एजे गाउँबाट एक घण्टाभन्दा बढीको यात्रा गरेर बोका बोकेर क्याम्पस पुगेकी थिइन्। उनी खाद्यान्न, पेय पदार्थ र स्थानीय खाजा बेच्ने सानो व्यापार गर्छिन्।

आमाको  इच्छा त छोरालाई मर्सिडिज बेन्ज '४म्याटिक' जिप उपहार दिने थियो। तर आर्थिक अवस्था अनुकूल नभएपछि करिब १ लाख २० हजार नाइरामा बोका किनेर उपहार दिएको बताएकी छन्।

"मसँग मर्सिडिज किन्ने पैसा थिएन, त्यसैले मैले यो सानो उपहार किनेर ल्याउने निर्णय गरेँ," चिन्येरेले भनिन्। 

छोरा विश्वविद्यालय भर्ना हुँदा उनले एउटा शर्त राखेकी थिइन्- खराब सङ्गत र गुण्डागर्दीबाट टाढा रहेर पढाइ पूरा गरेमा पुरस्कार पाइने। प्रोमिसले आमाको शर्त पूरा गरेपछि आमाले पनि आफूले गरेको वाचा पूरा गर्न बोका उपहार दिएको उनले बताइन्।

भविष्यको योजना 

नाइजेरियामा धेरै स्वास्थ्यकर्मीहरू राम्रो अवसरको खोजीमा विदेशिने गरेका छन्। तर, प्रोमिस भने आफ्नै देशको स्वास्थ्य प्रणाली सुधार्न नाइजेरियामै बस्न चाहन्छन्। "टप ५० विद्यार्थीको सूची निकालियो भने म त्यसमा पर्नेछु भन्ने विश्वास छ," उनले भने। नाइजेरियामा उच्च शिक्षा पूरा गर्नेदर प्रति १०० जनामा ११.३ प्रतिशत मात्र छ।

आमाले दिएको यो अनौठो र मायालु सरप्राइजबाट गद्गद् भएका प्रोमिस भन्छन्, "आमाले मलाई जसरी सरप्राइज दिनुभयो, म पनि पछि उहाँलाई त्यसरी नै ठूलो सरप्राइज फर्काउनेछु।"

(बीबीसीमा प्रकाशित फिचर सम्पादित अनुवाद

भदौ २, २०८३ मंगलबार १९:१५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।