बीपीको विचारमाथि 'आफूअनुकूल' राजनीति बन्द गरौँ : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक स्वार्थका लागि बीपी कोइराला र गणेशमान सिंहको नाम तथा विचारलाई आफूअनुकूल प्रयोग गर्ने गरेको भन्दै आपत्ति जनाएका छन्।
लेखक धर्म गौतमको पुस्तक विमोचन समारोहमा बोल्दै थापाले बीपीका विचारलाई गलत ढङ्गले व्याख्या गर्ने र राजनीतिक सहारा बनाउने काम बन्द हुनुपर्नेमा जोड दिए। नेपाली राजनीतिमा पछिल्लो समय आफूलाई आवश्यक पर्दा मात्र रातारात बीपीलाई सम्झिने परम्परा बसेको भन्दै उनले आलोचना गरे।
"‘पछिल्लो समयको परम्परा के रह्यो भने आफूलाई जहाँनिर चाहिन्छ, बीपी कोइरालालाई त्यहाँनिर प्रयोग गर्ने प्रवृत्ति छ। म अहिले पनि ठाउँ–ठाउँमा भएका छलफलहरूमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ एकदम व्यापक आइरहेको सुनिरहेको छु। नेताहरूले यतिबेला रातारात बीपीलाई सम्झिनुभएको छ," उनले भने।
राजनीतिक विषयमा प्रत्यक्ष रूपमा आफ्नो कुरा राख्न नसक्दा बीपीको नामलाई सहारा बनाउने प्रवृत्ति देखिएको उनले बताए। "कोसँग कानेखुसी गर्नुपरेको छ, त्यसको लागि फेरि हिम्मत छैन आफैँ आएर भन्ने। त्यो हिम्मत नभएपछि कसलाई सम्झने भन्दा बीपीलाई सम्झने," थापाले भने।
थापाले बीपी कोइराला र गणेशमान सिंहको योगदान सिङ्गो राष्ट्रको भएकाले उनीहरूलाई कुनै निश्चित परिवार वा सीमित घेरामा राख्न नहुने बताए। यसका साथै बीपी कोइरालाको विचारलाई गलत ढंगले व्याख्या गर्ने र आफूअनुकूल अर्थ लगाउने काम भइरहेको भन्दै थापाले त्यसबारे इतिहासका जानकार तथा तत्कालीन अभियन्ताहरूले वास्तविकता स्पष्ट पार्नुपर्ने बताए।
उनले भने, "बीपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र सीमित हुन दिनुहुँदैन। त्यसैले आज बीपीलाई मिसकोट गरिँदा र गलत ढंगले व्याख्या हुँदा त्यो आधिकारिकता हुँदैन। तिमीहरूले देखेका थियौँ बीपी ? भनेपछि छैन भन्नुपर्छ, त्यसैले जो वास्तवमा त्यो बेलाका अभियन्ताहरू अगाडि आएर वास्तविकताबारे बुझाउनुपर्छ।"
थापाले बीपी कोइरालाको राजनीतिक जीवन लामो र निरन्तर विकसित हुँदै गएको भए पनि लोकतन्त्र र सामाजिक न्यायप्रतिको उनको मूल प्रतिबद्धता भने कहिल्यै परिवर्तन नभएको बताए।
साउन ३१, २०८३ आइतबार १८:३२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।